संघ नेतृत्वले सार्वजनिक गर्‍यो २६ महिनाको उपलब्धि सूची

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमितिले आफ्नो २६ महिनाको कार्यकाल सकिनै लाग्दा गरेका प्रगति विवरण सार्वजनिक गरेको छ । २०७९ माघ ६ गते सम्पन्न २९औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले कार्यकालका क्रममा गरेका उल्लेखनीय उपलब्धिहरू मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

प्रशासनिक भवन खरिद गर्न सफल भएको विषय संघको पहिलो उपलब्धिको रुपमा लिएको छ। सोमबार मात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारीले उक्त भवनको औपचारिक उद्घाटन गरेका थिए।

संघले व्यवसायी र कामदारका ३४ सयभन्दा बढी उजुरी समाधान गर्दै गुनासो सुनुवाईको लागि मेलमिलाप कक्षको निर्माण, नीतिगत सुधार, सामाजिक उत्तरदायित्वका कार्यक्रम र अन्तर्राष्ट्रिय क्षेत्रमा व्यवसायीको प्रतिनिधित्वसमेत गर्न सफल भएको बताइएको छ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार, वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन संघले निरन्तर प्रयास गरेको छ। हालै मलेसियामा लगाउन खोजिएको ४५ डलर शुल्कको विरोध गर्दै उक्त निर्णय हटाउन सफल हुनु कार्यकालको अर्को महत्वपूर्ण उपलब्धि हो।

संघले यूएई, साउदी, कतार, मलेसिया लगायतका देशहरूमा स्थलगत भ्रमण र रोजगार मेला आयोजना गर्दै अन्तरक्रिया कार्यक्रममार्फत व्यवसायिक पहुँच विस्तार गरेको छ। साथै, वैदेशिक रोजगार ऐन संशोधन, धरौटीमा लिइने व्याजमार्फत कोष स्थापना, व्यवसायीको सामाजिक सुरक्षा सुनिश्चितता र विदेशबाट फर्किएर उद्यम गर्नेहरुलाई सम्मानजस्ता कार्यक्रम सञ्चालन गरेको बताएको छ।

अध्यक्ष भण्डारीले नयाँ नेतृत्वले अधुरा रहेका मुद्दाहरू—जस्तै सेवा शुल्क निर्धारण, मागपत्र प्रमाणीकरण, नयाँ गन्तव्य विकास, र श्रम सम्झौता सुधार—लाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

संघको आगामी योजना अन्तर्गत आफ्नो भवन विस्तार, तिनकुनेस्थित जग्गामा स्मारक निर्माण, र वैदेशिक रोजगारमा गएर फर्किएका श्रमिकलाई स्वदेशमै रोजगारीमा व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखिने बताइएको छ।

कामदारका लागि न्यूनतम ज्याला सुनिश्चितता, २४ घण्टे बीमा, वित्तीय साक्षरता, सीप विकास र सामाजिक सुरक्षा कोषमा आवद्धता बढाउने विषयमा समेत संघको आगामी नेतृत्वले निरन्तर पहल गर्नुपर्ने अध्यक्ष भण्डारीको भनाइ थियो।

सम्बन्धित समाचार