दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। यात्रुहरूसँग ठूलो रकम असुल्ने कार्यमा संलग्न के एण्ड सी इन्टरनेशनल प्रा.लि.का ४७ वर्षीय जग गुरुङलाई अध्यागमन विभागको समन्वयमा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार गुरुङले “अध्यागमनमा सेटिङ मिलाएर मात्र श्रम भिसामा जान सकिन्छ” भन्दै दुई जना सेवाग्राहीसँग रु. १ लाख १० हजार माग गरेका थिए। लाजिम्पाटस्थित आफ्नै कार्यालयबाट रकम लिँदै गर्दा उनी पक्राउ परेका हुन्।
पीडितका अनुसार गुरुङले यसअघि पनि मानिसहरूलाई यसैगरी विदेश पठाएको भन्दै विश्वास दिलाएका थिए। रकम अभाव हुँदा समेत कम पैसामा काम गरिदिने प्रलोभन देखाएर ठगी गर्ने प्रयास गरिएको गुनासो आएको छ।
उजुरीपछि अध्यागमन विभागले अनुसन्धान अघि बढाउँदै नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी उनलाई पक्राउ गरेको हो। हाल उनलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको छ।
छोटो अवधिका भिसामा विदेश पठाउने नाममा पछिल्लो समय ठगीका घटना बढ्दै गएका छन्।