वैदेशिक रोज़गारका लागि जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण शुल्क बुधबारदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। अघिल्लो सरकारले निर्णय गरे पनि तत्काल लागू हुन नसकेको शुल्क वृद्धि अहिलेबाट प्रभावमा आएको हो।
यसअघि विदेशिने कामदारहरूले ६ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य परीक्षण गराउँदै आएका थिए। तर नयाँ व्यवस्थाअनुसार अब ३ हजार रुपैयाँ थप भई श्रमिकहरूले ९ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ।
सरकारले विदेश जाने कामदारका लागि गर्नुपर्ने स्वास्थ्य परीक्षणहरू विस्तार गरी ३४ प्रकारका परीक्षण अनिवार्य बनाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले गुणस्तर बढाउन परीक्षण विस्तारित गरिएको दाबी गरे पनि, अत्यधिक परीक्षण र शुल्कले युवा श्रमिकहरूमा अनावश्यक आर्थिक बोझ पर्ने भन्दै आलोचना भइरहेको छ।