काठमाडौं। काठमाडौं महानगरपालिका ले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै ७ दिने निःशुल्क उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ। महानगरको सामाजिक विकास विभागअन्तर्गत रहेको रोजगार सेवा केन्द्रमार्फत आर्थिक वर्ष २०८२/०८३ को रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गर्न लागिएको हो।
महानगरले २०८२ फागुन ५ गते सूचना प्रकाशन गर्दै वैदेशिक रोजगारबाट स्वदेश फर्किएका इच्छुक व्यक्तिहरूलाई आवश्यक कागजात अपलोड गरी अनलाइन आवेदन दिन आह्वान गरेको छ। सूचनाअनुसार आवेदन दिने अन्तिम मिति २०८२ फागुन १९ गतेसम्म तोकिएको छ।
सात दिनसम्म सञ्चालन हुने उक्त तालिममा २० जना सहभागी रहने व्यवस्था गरिएको छ। तालिम पूर्ण रूपमा निःशुल्क हुनेछ। तालिममार्फत सहभागीलाई उद्यम सुरु गर्ने प्रक्रिया, व्यवसाय योजना निर्माण, बजारीकरण रणनीति, वित्तीय व्यवस्थापन लगायतका विषयमा व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिने महानगरले जनाएको छ।
अनलाइन आवेदन फाराम महानगरले उपलब्ध गराएको लिंक तथा क्यूआर कोडमार्फत भर्न सकिने व्यवस्था गरिएको छ। छनोट प्रक्रियामा काठमाडौं महानगरपालिका क्षेत्रका स्थायी बासिन्दालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।
थप जानकारीका लागि महानगरले सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ। महानगरको यो पहलले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार तथा उद्यमतर्फ अग्रसर गराई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

You must be logged in to post a comment.