ग्लोबल कलेज अफ टुरिज्म एण्ड होस्पिटालिटी एजुकेशन (GATE) ले आफ्नो १५औं दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको छ। शनिवार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आतिथ्य व्यवस्थापनको स्नातक तह उत्तीर्ण गरी स्वीस डिग्री हाँसिल गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र र पदक हस्तान्तरण गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. ड्यानिएल म्युली, चर्चित अभिनेत्री मनीषा कोइराला र गेट कलेजका का सिईओ खेम लकाईले विधार्थीहरुलाई पदक हस्तान्तरण गरेका थिए ।
दीक्षान्त कार्यक्रममा विद्यार्थीहरूलाई बधाई दिँदै राजदूत डा. म्युलीले विधार्थीहरुको यात्रा अनुशासन, सिर्जनशीलता र धैर्यतामा आधारित बताउनु भयो । आतिथ्य क्षेत्र विश्वव्यापी र जीवित उद्योग भएकाले विधार्थींहरूले आफ्नो पहिचान बनाउनु सक्ने विस्वास उहाँको थियो । राजदूत डा. म्युलीले स्विट्जरल्याण्डले गेट जस्ता संस्थाहरूसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताउनु भयो ।
कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाले गेटको दृष्टिकोण र शिक्षा प्रणालीको प्रशंसा गर्दै नेपालबाटै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उदाहरणिय कार्य गरिरहेको बताउनु भयो । विद्यार्थीहरूलाई सीपमात्र होइन, सहनशीलता, सिर्जनशीलता र नेपाली आतिथ्य संस्कार गेटले सिकाइएको भन्दै उहाँले नेपालको शिक्षा क्षेत्रमा देखिएको सकारात्मक पक्षको रुपमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा गेट कलेजका सिईओ खेम लकाईले आफ्नो व्यक्तिगत अनुभव बाँड्दै आफु किसान परिवारबाट आएको भन्दै शिक्षा र इमान्दार कामले आजका अवसरहरूसँग जोडिन सकेको बताउनु भयो । उहाँले नेपालका युवाहरूलाई प्रोत्साहित गर्दै राजनीतिक अस्थिरता र चुनौतीहरूलाई नहेरी आफ्ना जिम्मेवारीमा इमान्दारीपूर्वक लाग्न आग्रह गर्नुभएको छ । अहिले देशको भविष्य युवामा रहेको भन्दै दीक्षित युवाहरुलाई दक्ष र व्यवसायिक बनि विश्व बजारमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ ।
दीक्षान्तपछि विद्यार्थी, शिक्षक, अभिभावक र अतिथिहरूबीच फोटो सेसनको आयोजना गरियो। डिग्री प्राप्त गर्ने खुसी र गर्वका ती क्षणहरू सबैको मुहारमा देखिन्थ्यो। विद्यार्थीहरूले आफ्नो दीक्षान्त ड्रेसमा साथीसँग, शिक्षकसँग र परिवारसँग फोटो खिचाउँदै त्यो क्षणलाई स्मरणीय बनाएका थिए।