अब वैदेशिक रोजगारीको श्रम स्वीकृति २ मिनेटमै!

दुई महिना अघि यदि तपाईले वैदेशिक रोजगारीमा जान हप्तौ लगाएर श्रम स्वीकृति लिनुभएको थियो भने अहिले त्यो श्रम स्वीकृति २ मिनेटमै पाईन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हो अहिले वैदेशिक रोजगार विभागले अनलाईन पद्धतिलाई छरितो बनाई कागजात अपलोड गरेको २ मिनेट भित्रै श्रम स्वीकृति प्रदान गर्न थालेको छ । दुई महिना अगाडि यहि श्रम स्वीकृतिको अनलाईन फारम भर्न मात्रै कम्तीमा १ हप्ता कुर्नुपर्ने अबस्था रहेको थियो । यो भनाई हाम्रो होइन श्रम स्वीकृति दिने निकाय वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईको हो ।

सेवाग्राहीले आफैं मोबाइलबाटै अनलाइन फारम भरी आवश्यक कागजात अपलोड गर्न सक्छन्।यदि अनलाइन फारम भर्दा गल्ती भएमा, कुन कागजात नपुगेको हो भनेर विभागले स्पष्ट सन्देशमार्फत सूचित गर्ने विभागका महानिर्देशक कमल प्रसाद भट्टराईको भनाई छ ।

महानिर्देशक भट्टराई भन्छन् — अरुलाई फारम भर्न दिएर कागजात अधुरो राख्ने, गलत अपलोड गर्ने अनि अस्वीकृत गराएर पैसा असुल्ने प्रवृत्ति  देखिएकोले सेवाग्राही स्वयंले फारम भर्नु नै सुरक्षित हुन्छ।

उहाँले विभागको सेवा प्रयोग गर्दा उजुरीबाहेक कुनै कामका लागि कार्यालयमै उपस्थित हुन नपर्ने स्पष्ट पार्दै, अनलाइन सेवा प्रयोगमा अप्ठ्यारो भए निःशुल्क सहायता लिन विभागमै सम्पर्क गर्न आग्रह गर्नुभएको छ।

२ मिनेटमै श्रम स्वीकृति प्राप्त गर्ने यो सुविधा तपाईंको सजगता र सक्रिय सहभागितामा निर्भर छ। अब अरूको भर पर्नु पर्दैन, आफैँ अनलाइन फारम भर्न सिक्नुस्। यदि आफूले गर्नै नसकिएमा, विभागले उपलब्ध गराएको निःशुल्क सहायता सेवा तुरुन्तै लिनुहोस् ।

सम्बन्धित समाचार