श्रम मन्त्रालयको डिजिटल यात्राः श्रमिकलाई एकीकृत प्रणालीमार्फत सेवा दिने तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक तथा रोजगारदाता लक्षित सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै श्रम क्षेत्रको समग्र सुधारको लागि डिजिटल प्रविधिको व्यापक प्रयोग गर्ने रणनीति अघि सारेको छ। हालै सार्वजनिक गरिएको रणनीतिक डिजिटलाइजेसन कार्ययोजना (मस्यौदा) मा मन्त्रालयले डिजिटल प्रविधिको माध्यमबाट श्रम बजारमा समावेशी, पारदर्शी र तथ्यमा आधारित नीतिगत हस्तक्षेप गर्ने स्पष्ट दृष्टिकोण अघि सारेको हो।

यस रणनीतिअनुसार, मन्त्रालयले ‘श्रम संसार’ नामक एकीकृत श्रम व्यवस्थापन पोर्टलको निर्माण र सञ्चालनको तयारी गरिरहेको छ। यो प्रणालीमार्फत बेरोजगार व्यक्ति, स्वरोजगारका आकांक्षी, आन्तरिक तथा वैदेशिक रोजगारी खोजीमा रहेका श्रमिक, साथै रोजगारदाता र सीप विकास संस्थाहरूबीच आवश्यक जानकारी, अवसर र सेवाहरू समन्वयपूर्वक उपलब्ध गराइनेछ। यो पोर्टलले श्रम बजारमा सूचना प्रवाहलाई सरल बनाउने मात्र होइन, सेवाको गुणस्तर र प्रभावकारितामा समेत उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। श्रम संसार सोमबारबाट नागरिक एपमा समेत जोडिएको छ ।

श्रम विज्ञ युबराज बस्नेतका अनुसार, श्रम क्षेत्रलाई डिजिटल बनाउने उद्देश्यले हाल एकीकृत प्रणाली निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। उनले भने, “हामी तथ्यमा आधारित नीति निर्माणतर्फ उन्मुख हुँदैछौं, जसले श्रमिक र रोजगारदाताबीचको दूरी घटाउनेछ र श्रम बजारको पारदर्शिता र विश्वसनीयता बढाउनेछ।”

‘श्रम संसार’ पोर्टलको माध्यमबाट श्रमिकले आफ्नो सीप, रुचि र अवस्थाअनुसार उपयुक्त रोजगारी खोज्न सक्नेछन् भने रोजगारदाताले आवश्यक जनशक्ति छान्न सक्नेछन्। प्रणालीमा रोजगारीको माग र आपूर्तिको विश्लेषण, स्वरोजगारमा सहयोग गर्न व्यवसायिक योजना, वित्तीय पहुँच, र बजार सञ्जालको जानकारीसमेत उपलब्ध हुनेछ। यस प्रणालीमा २४ घण्टा सेवा दिने च्याटबोट, कल सेन्टर तथा व्यावसायिक परामर्श सेवा समेत समावेश हुने जनाइएको छ।

त्यसैगरी, श्रम बजारको विश्लेषण, सीपको माग र आपूर्तिको अध्ययन, तालिम प्रदायक संस्था तथा रोजगारदाता सम्बन्धी विस्तृत विवरण पनि यस प्रणालीमा राखिनेछ। मन्त्रालयले यस प्रणालीलाई नागरिक एप, वैदेशिक रोजगारमा सहयोग पुर्‍याउने दूतावास सेवा, तथा कन्सुलर सेवासँग पनि जोड्ने योजना बनाएको छ, जसले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

यससँगै, मन्त्रालयले श्रम बजार सूचना प्रणाली (Labour Market Information System – LMIS) को SRS र Blueprint तयार गरिसकेको छ भने कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) प्रयोग गरी श्रम बजारको माग–आपूर्ति अनुमान गर्ने प्राविधिक मोड्युलसमेत विकास गरिरहेको छ। मन्त्रालयले नागरिक स्तरदेखि केन्द्रसम्मका श्रमसम्बन्धी नीति तथा कार्यक्रमहरूलाई समन्वयात्मक रूपमा अघि बढाउने उद्देश्य राखेको छ।

यस रणनीतिकाे अन्तिम लक्ष्य भनेको नेपाललाई समावेशी, तथ्यमा आधारित, पारदर्शी र डिजिटल श्रम प्रणालीमार्फत श्रमिकमैत्री देश बनाउनु हो, जहाँ सेवा प्रवाह सरल, सुलभ र प्रभावकारी हुनेछ। मन्त्रालयले यसको कार्यान्वयनसँगै श्रम बजारमा दीर्घकालीन सुधार आउने विश्वास लिएको छ।

सम्बन्धित समाचार