काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा जेठ १७ मा, अनलाइन आवेदन जेठ १ गते बाट

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ। महानगरअन्तर्गतका संस्थागत विद्यालयमा परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने व्यवस्था गरिएको हो।

महानगरपालिकाका अनुसार अनलाइन आवेदन प्रक्रिया २०८३ जेठ १ गते बिहान १० बजेदेखि सुरु हुनेछ भने आवेदन दिने अन्तिम मिति जेठ १० गते राति ११:५९ बजेसम्म तोकिएको छ। विद्यार्थीहरूले काठमाडौं महानगरपालिका वेबसाइट www.kathmandu.gov.np तथा entrance.kathmandu.gov.np मार्फत आवेदन दिन सक्नेछन्।

महानगरले छात्रवृत्ति परीक्षा २०८३ जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने जनाएको छ। परीक्षा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिनेछन्।

महानगरपालिकाले विषयगत अङ्कभार, विद्यालयअनुसार छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको जनाएको छ। विद्यार्थी तथा अभिभावकलाई समयमै आवेदन प्रक्रिया पूरा गर्न महानगरले आग्रह गरेको छ।

सम्बन्धित समाचार