युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्ने तयारीस्वरूप तयार गरिएको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारणसँग राय–सुझाव माग गरेको छ।
मन्त्रालयले विधायन ऐन, २०७५ को दफा ६ को उपदफा (२) बमोजिम संशोधन विधेयकको मस्यौदा सार्वजनिक गरेको हो। प्रस्तावित विधेयक किन आवश्यक परेको हो र त्यसले पार्न सक्ने सम्भावित प्रभावबारे जानकारीसहित मस्यौदा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय, व्यवसायी, श्रमिक, नागरिक समाज तथा इच्छुक सर्वसाधारणलाई विधेयकमाथि आफ्नो धारणा र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। प्राप्त सुझावका आधारमा विधेयकलाई आवश्यक परिमार्जन गरी अन्तिम रूप दिइने अपेक्षा गरिएको छ।
इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो राय तथा सुझाव emd@moless.gov.np इमेलमार्फत वा अन्य उपयुक्त माध्यमबाट मन्त्रालयमा पठाउन सक्नेछन्।
मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले ऐन संशोधन प्रक्रिया अघि बढाएको जनाएको छ। सार्वजनिक सुझाव संकलनपछि विधेयकलाई आवश्यक परिमार्जन गरी मन्त्रिपरिषद् तथा संघीय संसद्मा पेश गर्ने प्रक्रिया अगाडि बढ्नेछ ।