शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ को विरोधमा शैक्षिक परामर्श व्यवसायी तथा यस क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था आजदेखि देशव्यापी आन्दोलनमा उत्रिएका छन्। नियमावली तत्काल फिर्ता लिन, सरोकारवालासँग व्यापक छलफल गरी व्यावहारिक संशोधन गर्नुपर्ने माग राख्दै उनीहरूले देशभरका शैक्षिक परामर्श संस्थामार्फत हातमा कालोपट्टी बाँधेर मौन विरोध सुरु गरेका हुन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) लगाएत अन्य १३ संघ संस्थाले पर्याप्त छलफल र सहमति बिना ल्याइएको नियमावलीका केही प्रावधानले शैक्षिक परामर्श क्षेत्र, विद्यार्थी, अभिभावक तथा व्यवसायीमा अन्योल र असन्तुष्टि सिर्जना गरेको ठहर गरेको थियो। उनीहरुले दशकौँदेखि नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाको अवसरसँग जोड्दै आएको शैक्षिक परामर्श क्षेत्रको योगदानलाई नियमावलीले उचित रूपमा सम्बोधन गर्न नसकेको जनाएका छन्
शैक्षिक परामर्शदातृ संघ संस्थाहरुले नियमावली तत्काल फिर्ता लिएर सबै सरोकारवालासँग अर्थपूर्ण र पारदर्शी संवाद गर्न तथा संविधानको मर्म, शिक्षा क्षेत्रको आवश्यकता र व्यावहारिक पक्षलाई ध्यानमा राखेर पुनः परिमार्जन गर्न सरकारसँग आग्रह गरेका छ।