श्रम मन्त्रालय: सिन्डिकेट र सचिवालय जोडिएको समाचार तथ्यहीन

मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सिन्डिकेट सञ्चालन हुने तथा श्रम मन्त्रालयको सचिवालयको संलग्नता रहेको भन्ने विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका समाचारप्रति युवा, श्रम तथा रोजगार मन्त्रालय ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार जारी प्रेस विज्ञप्तिमा मन्त्रालयले यस्ता दाबी तथ्यमा आधारित नभएको स्पष्ट गर्दै मन्त्रालय वा सचिवालयको कुनै पनि संलग्नता रहेको आरोपलाई अस्वीकार गरेको छ। साथै, सम्बन्धित गन्तव्य मुलुकबाट पनि यस विषयमा कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।

मन्त्रालयले वैदेशिक रोजगारीलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र श्रमिकमैत्री बनाउने नीति अनुरूप काम भइरहेको उल्लेख गर्दै कुनै पनि व्यवसायीलाई एकाधिकार दिने वा प्रतिस्पर्धा सीमित गर्ने कार्य नहुने स्पष्ट पारेको छ।

यसअघि केही व्यवसायीहरूले मन्त्रालयको सचिवालयसँगको साँठगाँठमा सीमित व्यवसायीलाई लाभ पुग्ने गरी मलेसिया रोजगारीमा सिन्डिकेट लगाउने प्रयास गरेको आरोप आरोप लगाएका थिए। त्यसपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि उक्त विषयमा आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको थियो।

सम्बन्धित समाचार