सरकारसँग सहमति जुटेपछि वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएसँगै संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

साउन २२ गते १५ बुँदे माग राख्दै आन्दोलन सुरु गरेको संघले आज भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको थियो। तर, मन्त्रालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको उपस्थितिमा संघका अध्यक्ष तथा पदाधिकारीसँग भएको छलफलपछि आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको हो।

छलफलमा संघले उठाएका १५ बुँदे मागमध्ये अधिकांश विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियामा समावेश भइसकेको मन्त्रालयले जानकारी गराएको छ। संशोधन प्रक्रियालाई यथाशीघ्र टुङ्ग्याएर वैदेशिक रोजगारी क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउने विषयमा मन्त्रालय र संघबीच सहमति भएको छ।

संघका प्रथम उपाध्यक्ष महेश कुमार बस्नेतले व्यवसायीका माग २ महिना भित्र सम्बोधन गर्ने सरकारको प्रतिबद्धता आएकाले हाललाई आन्दोलनको कार्यक्रम स्थगित गरेको बताए । व्यवसायी पनि समस्या समाधानमै केन्द्र्रित भएको र सरकार पनि गम्भीर भई छलफलमा बसेकाले सहमतिको वातावरण बनेको उनको भनाई थियो ।

सहमति जुटेसँगै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजकै मितिदेखि आफ्ना सबै दबाबमूलक तथा आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ।

सम्बन्धित समाचार