“कुराउनी पाँडे” — खसीबाख्रा व्यापारीबाट खुँवा उद्यमीसम्मको कथा

हरिवन–४, पटौना सर्लाहीकै एउटा सुन्दर गाँउ । जहाँ उद्यमशिलताको अनेकन सम्भावना खोजिरहेको पटौनालाइ खुँवाको स्वादले चिनाइरहेका छन स्थानिय उद्यमी राजन पाण्डेले । केही महिनाअघिसम्म उनी सडकमा बाख्रा डो¥याउदै बजार लगि बेच्दै हिँड्थे, आज उनी गाउँमै खुवा बनाउने स्वचालित मेसिन घुमाउँदै बसेका छन्। व्यवसाय त हिजो नी थियो आज पनि छ तर फरक भनेको उनको दृष्टिकोण, अवसर र आत्मविश्वास को हो।

परिवर्तनको ढोका खोल्ने चाबी बनेको थियो – हेल्भेटासद्वारा सञ्चालित इन इलम परियोजना। परियोजनाअन्तर्गत हाम्रो कृषि सहकारी संस्थालाई उपलब्ध गराइएको आधुनिक खुँवा बनाउने मेसिन सञ्चालन गर्ने जिम्मेवारी जब सहकारीले राजनलाई दियो, तब उनले आफ्नो जीवनको नयाँ अध्याय सुरु गरे।

राजन अहिले दैनिक ५० लिटर दूधबाट कुराउनी (खुवा) बनाउँछन्। र त्यो पनि सिधा सहकारीकै प्राङ्गणमा, स्वच्छ, गुणस्तरीय, मिसावटरहित।

कुराउनी बनेपछि राजन दिनको अर्डरअनुसार प्याकिङ गरेर हरिवन बजार पुर्‍याउँछन्। उनी व्यापार मात्रै होइन, गुणस्तर बेचिरहेका छन्। त्यसैले ग्राहकहरूको मुखमा मिठास मात्रै होइन, राजनको भरोसाको स्वाद पनि मिसिएको छ

दैनिक करिब ५५०० रुपैयाँको लागतमा उत्पादन हुने कुराउनी उनले ७०००–७५०० रुपैयाँसम्म बेच्ने गर्छन्।
दैनिक २ हजार रुपैयाँसम्मको नाफा कमाउने राजनले अब फाइदामात्र होइन, सपना कमाउन छन्।

सहकारीले बाँकी दूध हरिवनको निजी डेरीमा बेच्दै आएको छ – जहाँबाट ५ महिनासम्मको भुक्तानी थमाएको छ। तर राजन , उनले त हरेक दिन नगद भुक्तानी गर्दै सहकारीलाई साथ दिइरहेका छन्।

राजनको लक्ष्य ठूलो छ — सहकारीले संकलन गर्ने पूरै दूधबाट कुराउनी उत्पादन गर्ने। उनले गाउँमा स्थानीय रोजगारी, आत्मनिर्भरता, र स्थानीय उत्पादनको पुनर्जागरण देखेका छन्।

आज हरिवनमा धेरैले उनलाई “कुराउनी पाँडे” भनेर बोलाउँछन् , यो उपनामले उनलाई रिस होइन, गर्वको अनुभूति दिन थालेको छ। किनभने यो नाम मात्र हैन, उनीसँग जोडिएको एउटा सफलताको कथा पनि हो।

भिडियोः https://www.youtube.com/watch?v=8CF4YIrazhg

सम्बन्धित समाचार