म्याग्दी । म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल टिकटकमा लाइभ बस्छिन् । उनले मनोरञ्जन र सूचना अदानप्रदानका लागि नभएर स्थानीय उत्पादनको बजारीकरण गर्न सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गरेकी हुन् ।
‘सामाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर ब्यापार व्यवसायमा पनि प्रयोग गर्न सकिदो रहेछ,’ उनले भनिन्, ‘टिकटकको सहायताले मासिक चार लाख रूपैयाँ मूल्य बराबरको सामान बिक्री गर्दै आएकी छु ।’‘टिकटक’को प्रयोग गर्न थालेपछि उद्यमीहरुले उत्पादन गर्ने सामान खरिद गर्नदेखि उपभोक्ता र जिल्ला बाहिरका व्यापारीलाई बिक्री गर्न सजिलो भएको गुरुङको अनुभव छ ।
‘पहिले पसलमा आवश्यक पर्ने सामान जुटाउन र मासिक एक लाखको सामान बेच्न पनि मुस्किल थियो,’ उनले भनिन्, ‘टिकटक’ मार्फत अर्डर लिएर मासिक चार लाखसम्म सामान बेच्छु। ‘टिकटक’कै सहयोगमा गाउँ गाउँमा दिदीबहिनीले उत्पादन गरेका सामान खरिद गर्छु ।’‘टिकटक’मा सामानको भिडियो सहित आफ्नो सम्पर्क नम्बर राख्ने गर्छिन् । सोही ‘भिडियो’ हेरेर ग्राहकले सामान अर्डर गर्ने र आफ्नो खातामा पैसा जम्मा गरेपछि गाडी र कुरियर मार्फत सामान पठाउने गरेको गुरुङले बताइन् ।
म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको सटरमा गुरुङले गत असार महिनादेखि कोशेली घर सञ्चालन गरेकी थिइन् । कोशेली घरमा म्याग्दीका उद्यमीले उत्पादन गर्ने ढाका, अल्लो, तानमा बुनेका कपडा, राडीपाखी, जातीय पोशाक, नेपाली हाते कागज, भाँगो, कालो भट्ट, रातो च्याउ, सिमीको दाल, सिस्नो पाउडर, घर र भिरमह, टिमुर लगायत बस्तुहरु खरिद बिक्री हुन्छ। पोखरा, काठमाडौ, बुटवल, चितवनका ब्यापारी र विदेशमा रहेका नेपालीहरु ‘टिकटक’को माध्यमबाट कोशेली घरका सञ्चालक गुरुङको सम्पर्कमा आउँछन् ।
विदेशमा रहेका नेपालीका आफन्तलाई सम्पर्क गरेर सामान पठाउने र भुक्तानी लिने गरेको गुरुङले बताइन् । बेलायत, अस्टे«लीया, जापान, पोर्चुगल, अमेरिकामा रहेका नेपालीहरुले सामान माग गर्छन् । सिस्नोको पाउडर, टिमुरको चटनी, फापरको पिठोको विदेशबाट धेरै माग आउने गरेको गुरुङले बताइन् । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोशेली घर सञ्चालन गरेपछि स्थानीय उद्यमीले तयार पारेका कृषि, पशु र लघुउद्योगको उत्पादन बजारीकरणमा सहयोग पुगेको बताए । यहाँ आउने पाहुनाहरु फर्किएर जाँदा चिनो स्वरुप कोशेली घरबाट सामान किनेर लैजाने गर्छन् । रासस