वैदेशिक रोजगारीका लागि इजरायलमा सहायक कामदार पठाउन आवेदन खुला गरिएको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (Long Term Care Facilities) मा “सहायक कामदार (Auxiliary Worker)” पठाउन G2G (सरकार–सरकार) प्रक्रियाअन्तर्गत आवेदन आह्वान गरेको हो । २ हजार ३ सय जनाका लागि आवेदन आह्वान भएकोमा महिला र पुरुष दुवै नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदनको कोटा मध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष लिईनेछ । मासिक तलब नयाँ इजरायली सेकल ६४३४।५६ अर्थात नेपाली करिब ३ लाख ४७ हजार रुपैया रहेको छ । कामदारले हप्तामा ६ दिन, दैनिक ८ घण्टा काम गर्नुपर्नेछ भने वार्षिक बिदा इजरायली कानुनअनुसार उपलब्ध हुने जनाइएको छ ।
आवेदन दिन इच्छुक व्यक्तिले २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेका उमेर समूहको हुनुपर्ने, कम्तीमा कक्षा १० उत्तीर्ण गरेको गरी अनमी वा सिएमए सम्बन्धि कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको हुनुपर्नेछ । वा १०+२ वा सो सरहको अध्ययन पुरा गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम केन्द्रबाट ३ महिनाको केयर गिभर तालिम लिएको हुनुपर्ने मापदण्ड विभागले राखेको छ । विगतमा इजरायल गई काम गरेको व्यक्ति आवेदनका लागि अयोग्य रहने छ । त्यस्तै, अंग्रेजी भाषाको ज्ञान आवेदकहरुमा हुनुपर्नेछ ।
आवेदन २०८३ जेठ १७ गतेदेखि सुरु भई २०८३ असार ७ गते बेलुका १२ बजेसम्म अनलाईनमार्फत दिन सकिने विभागले जनाएको छ । आवेदन ferms.dofe.gov.np मा गई दिन सकिनेछ ।