वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (Re-entry) प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ। नेपाल सरकारको सरकारी सुधारसम्बन्धी कार्ययोजना अन्तर्गत विदेशमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार सेवा प्रदान गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको विभागले जनाएको हो।
विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले सोही देश र कम्पनीका लागि पुनः श्रम स्वीकृति आवेदन गर्दा तोकिएका शर्त पूरा भएमा स्वचालित प्रणालीमार्फत स्वीकृति प्राप्त गर्न सक्नेछन्। यो व्यवस्था मन्त्रिस्तरीय निर्णयअनुसार लागू गरिएको हो।
स्वचालित पुनः श्रम स्वीकृतिका लागि कम्तीमा तीन महिनाको राहदानी अवधि बाँकी हुनुपर्ने, भिसा वैध हुनुपर्ने, कम्पनीसँगको करार सम्झौता कायम रहेको हुनुपर्ने तथा सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार कल्याणकारी कोष र जीवन बीमासम्बन्धी दायित्व पूरा गरेको हुनुपर्नेछ।
विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा सही विवरण प्रविष्ट गरी आवश्यक कागजात पेश गर्न सेवाग्राहीलाई आग्रह गरेको छ। गलत विवरण वा अपूर्ण कागजातका कारण उत्पन्न हुने समस्या तथा जिम्मेवारी स्वयं सेवाग्राहीले वहन गर्नुपर्ने विभागको भनाइ छ।