काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको नतिजा २४ घण्टाभित्रै सार्वजनिक गरेको छ। जेठ १७ गते सम्पन्न परीक्षाको प्रारम्भिक नतिजा आइतबार सार्वजनिक गर्दै महानगरले १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएको जनाएको छ।
महानगरअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/०८४ मा अध्ययनका लागि आयोजित छात्रवृत्ति परीक्षाको नतिजा अनलाइन पोर्टलमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। परीक्षार्थीहरूले आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्नेछन्।
शिक्षा अधिकारी तथा परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार प्रकाशित नतिजा प्रारम्भिक भएकाले चित्त नबुझेका परीक्षार्थीले जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन्। पुनर्योग प्रक्रिया सम्पन्न भएपछि अन्तिम योग्यताक्रम सूची प्रकाशन गरिने र त्यसपछि मात्र विद्यालय म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिस प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
परीक्षामा एक विद्यार्थीले सर्वाधिक ९२ अङ्क प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका एक विद्यार्थीले ९१ अङ्क हासिल गरेका छन्। तेस्रो उच्चतम अङ्क ९० प्राप्त गर्ने विद्यार्थीको संख्या पाँच रहेको छ।
नतिजाप्रति असन्तुष्ट परीक्षार्थीले १ हजार रुपैयाँ राजस्व दाखिला गरी प्रवेशपत्रको प्रतिलिपिसहित जेठ २० गतेभित्र शिक्षा विभागमा पुनर्योगका लागि आवेदन दिन सक्नेछन्। साथै फाराममा नाम, लिङ्गलगायतका विवरण फरक परेको वा आरक्षण सम्बन्धी त्रुटि सच्याउन आवश्यक परे प्रमाणित कागजातसहित निवेदन दिन सकिने व्यवस्था गरिएको छ।
महानगरपालिकाले छात्रवृत्ति छनोटका लागि वैशाख ३ गते सूचना प्रकाशित गरेको थियो। ८३ परीक्षा केन्द्रमार्फत सञ्चालन गरिएको परीक्षाका लागि २६ हजार ८८८ जना विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो भने २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।