अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई श्रम स्वीकृति प्राप्त भएको यकिन गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा केही नेपाली नागरिकले श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा आवेदन दिए पनि स्वीकृति नपाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा प्रस्थानका लागि आउने गरेको उल्लेख गरेको छ।
कतिपय व्यक्तिले श्रम स्वीकृति भइसकेको छ भन्ने जानकारी पाए पनि वास्तवमा सम्बन्धित व्यक्तिको तर्फबाट निवेदन मात्र दर्ता भएको र श्रम स्वीकृति प्राप्त नभएको पाइएको छ। यस विषयमा यात्रुहरूलाई पर्याप्त जानकारी नभएको विभागको भनाइ छ।
अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश यात्रा गर्ने नेपाली नागरिकलाई वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्राप्त भएको यकिन गरेपछि मात्र यात्रा तय गर्न अनुरोध गरेको छ।
साथै, श्रम अनुमति प्राप्तिका लागि आवेदन मात्र परेको तर स्वीकृति नपाएको अवस्थामा अध्यागमनबाट प्रस्थान अनुमति दिन नसकिने स्पष्ट पारिएको छ।
विभागले विदेश जानुअघि आवश्यक कागजात तथा श्रम स्वीकृतिको अवस्था सम्बन्धित निकायबाट अनिवार्य रूपमा पुष्टि गर्न सबैलाई आग्रह गरेको छ।