अमेरिकाको विद्यार्थी भिसा अस्थायी रूपमा स्थगित

अमेरिकी विदेश मन्त्रालयले हाललाई विदेशी विद्यार्थीहरूका लागि भिसा अन्तर्वार्ताको नयाँ समय तालिका रोक्ने निर्णय गरेको छ। एसोसिएटेड प्रेस (एपी) को रिपोर्ट अनुसार, विद्यार्थी भिसासम्बन्धी प्रक्रियामा सामाजिक सञ्जाल निगरानीलाई थप कडा बनाउने तयारी भइरहेकोले यस्तो निर्णय गरिएको हो।

अमेरिकाले अब न केवल विद्यार्थी, तर कुनै पनि प्रकारको भिसाका लागि आवेदन दिने व्यक्तिहरूको सामाजिक सञ्जाल गतिविधिहरूको सूक्ष्म अध्ययन गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेम्मी ब्रुसले यसबारे स्पष्ट पार्दै, अमेरिका प्रवेशका लागि आवेदन दिने जो कोहीको पृष्ठभूमि मूल्यांकन गर्न सबै उपलब्ध प्रविधि र साधनहरूको प्रयोग गरिने बताएकी छन्।

विदेश मन्त्री मार्को रूबियोले एक सर्कुलरमार्फत्, सामाजिक सञ्जाल निगरानीका लागि आवश्यक नीति निर्देशन तयार नभएसम्म नयाँ अन्तर्वार्ताहरू तोकिने छैनन् भन्ने जानकारी दिएका छन्। उक्त सर्कुलरमा स्पष्ट उल्लेख गरिएको छ, “विद्यार्थी र शैक्षिक आदानप्रदान कार्यक्रम अन्तर्गतको भिसाको सन्दर्भमा, मार्गदर्शन जारी नभएसम्म नयाँ अन्तर्वार्ता तालिका निर्धारण नगरियोस्।”

यस निर्णयले पहिले नै अन्तर्वार्ता समय तोकिएका वा अन्तर्वार्ता दिइसकेका आवेदकहरूमा भने कुनै असर नपर्ने स्पष्ट गरिएको छ।

सम्बन्धित समाचार