काठमाडौँ, जेठ ८ – काठमाडौँ महानगरपालिकाको आयोजना तथा काठमाडौँ रोजगार सेवा केन्द्रको सहकार्यमा सिप मेला २०८२ को औपचारिक सुरुवात टुँडिखेल मैदानमा भएको छ। युवा लक्षित रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको मेलामा युवाहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

मेलाको पहिलो दिनमै १६४१ जनाले वृत्ति विकास परामर्श तथा अभिमुखीकरण कार्यक्रम मा भाग लिएका छन्। उनीहरूलाई सिप, रोजगारी, उद्यमशीलता र आर्थिक आत्मनिर्भरताका सम्भावनाबारे जानकारी दिइएको हो। कार्यक्रमबाट उत्साहित सहभागीहरूले विभिन्न सिप तालिममा नाम लेखाएका छन्।
तालिमका लागि हालसम्म २९२५ जना युवाहरू छनोट भइसकेका छन्। ती सहभागीहरूलाई १० क्षेत्रमा ४२ प्रकारका सिपहरूमा प्रशिक्षण दिइनेछ। ती क्षेत्रमा सूचना प्रविधि, सौन्दर्यकला, होटल व्यवस्थापन, अटोमोबाइल मर्मत, इलेक्ट्रीसियन, कृषि तथा पशुपालन, गार्मेन्ट तथा ज्योतिषसमेत समेटिएका छन्।
काठमाडौँ मोडल कलेज, बागबजारमा जेठ ८ गतेदेखि सैद्धान्तिक कक्षा सुरु गरिएको छ। तालिमपछि रोजगारी र उद्यम स्थापना दुवैका लागि महानगरले सहजीकरण गर्ने जनाएको छ।
कार्यक्रममा युवाहरूसँग संवाद गर्दै प्रेरणादायी व्यक्तित्वहरू—सेलिब्रिटी सेफ सन्तोष शाह, कलाकार सन्दीप छेत्री, युवा उद्यमी कार्भिका थापा, शिवराज बास्तोला, अनु महर्जनलगायतले आफ्ना अनुभव सुनाएका थिए। उनीहरूले मेहनत, सिप र निरन्तरताको महत्वमा जोड दिए।
कार्यक्रम संयोजक डा. सुमननरसिंह राजभण्डारी भन्छन्, “हामी सिप आधारित समाजको निर्माणतर्फ अघि बढिरहेका छौँ। यस मेलाले युवा वर्गलाई रोजगारीको बाटो देखाउनेछ।”काठमाडौँ महानगरद्वारा सिप मेला २०८२ सुरु: युवाहरूको उल्लेख्य सहभागिता
You must be logged in to post a comment.