वैदेशिक रोजगार विभागले इजाजतपत्रविना वैदेशिक रोजगारीमा श्रमिक पठाउने ट्राभल एजेन्सी, एजेन्ट र शैक्षिक परामर्शदातृहरूको कडाइका साथ अनुगमन गरी कारवाही गर्ने भएको छ । विभागका पछिल्ला कार्यप्रगति वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक कमलप्रसाद भट्टराईले विना इजाजत अवैध रुपमा श्रमिक विदेश पठाउने गुनासो आउने गरेकाले कडा निगरानी र कारबाहीको प्रक्रिया अगाडि बढाउन लागिएको बताउनु भयो । शैक्षिक परामर्शदातृ संस्था र ट्राभल एजेन्टहरूद्वारा वैदेशिक रोजगारीको नाममा रकम संकलन वा विज्ञापन गर्ने कार्य कानुन विपरीत भएको भन्दै मानव बेचबिखनसम्बन्धी ऐन अन्तर्गत कारबाही गरिने महानिर्देशक भट्टराईले चेतावनी दिनुभएको छ ।
वैदेशिक रोजगारको क्रममा समस्यामा परेका श्रमिकहरुको तत्काल उद्धारका लागि रेपिड रेस्पोन्स टिम बनाइएको र त्यसले काम शुरु गरिसकेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।
विभागमा श्रम स्वीकृति दिदाँ हुने ढिलासुस्ती र अनलाईन प्रकृयाको समस्याका कारण पत्ता लगाई समाधान तर्फ अग्रसर भइसकेको उहाँको भनाई थियो । अब एक दुइ घण्टामै श्रम स्वीकृति दिने व्यवस्था कार्यन्वयन हुने दाबी उहाँले गर्नुभयो ।
महानिर्देशक भट्टराईले उजुरी व्यवस्थापन, राहत, उद्धार र क्षतिपूर्ति प्रक्रिया सुदृढ गर्न छुट्टै कार्यविधि लागू गरिने र नागरिक एप तथा राष्ट्रिय परिचयपत्र प्रणालीसँग डिजिटल सेवा प्रणालीहरू जोडिने योजना समेत विभागको रहेको जानकारी दिनुभयो ।