पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकायको  पाठ्यक्रमहरू परिमार्जन

पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन संकायले आफ्नो शैक्षिक कार्यक्रमहरूलाई अझ प्रभावकारी र व्यावसायिक बनाउन स्नातक तथा स्नातकोत्तर तहका पाठ्यक्रमहरू परिमार्जन र परिष्कृत गरेको छ। स्नातक तहका बिबिए, बिबिए (फाइनान्स), बिबिए (ट्राभल एण्ड टुरिज्म) र स्नातकोत्तर तहका एमबिए, एमबिए (फाइनान्स), एमबिए (ग्लोबल बिजनेस) कार्यक्रमहरूमा, २०२४ बाट नयाँ र समसामयिक पाठ्यक्रम लागू गरिएको छ। फाइनान्स कार्यक्रमलाई विशिष्ट बनाउन बैंकिङ्ग, बिमा, कर्पोरेट फाइनान्स र पूँजी बजारजस्ता क्षेत्रहरूको अध्ययन समावेश गरिएको छ। प्रत्येक सेमेस्टरमा प्राक्टिकल कोर्स, प्रोजेक्ट वर्क, र कम्युनिटी इङगेजमेन्ट परियोजनाहरू समावेश गरिएका छन्। यसले विद्यार्थीलाई व्यावसायिक र सामाजिक जिम्मेवारीबोध गर्न प्रेरित गर्ने विश्वविद्यालयको दाबी छ । प्रयोगात्मक सिकाइलाई जोड दिँदै नयाँ कोर्सहरू थप गरिएका छन्, जसमा उद्योग र अनुसन्धानका दुई विकल्प उपलब्ध छन्। पोखरा विश्वविद्यालयका रजिष्टार प्रो.डा. दिपकबहादुर भण्डारीले पाठ्यक्रममा गरिएको परिमार्जनले नयाँ भर्ना हुने विद्यार्थिको संख्यामै उल्लेख्य वृद्धि देखिएको वताउनु भयो ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकायको विषय समिति अध्यक्ष प्रो.डा.माहानन्द चालिसेले अध्ययनलाई समुदाय र उद्योगसँग जोडन सकिने तर्फ नयाँ पाठ्यक्रमले काम गरेको वताउनु भयो ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रो.डा. दयाराज ढकालले पाठ्यक्रम परिमार्जन निक्कै चुस्त र तथ्यमा आधारित भएर गरिएको वताउनु भयो । व्यवहारिक र प्रतिस्पर्धि शिक्षामा जोड दिएको पोखरा विश्वविद्यालयबाट उतिर्ण कुनै विद्यार्थि बेरोजगार बस्नु नपरेको दाबी उहाँको थियो ।

स्नातक तहमा अन्तिम आठौं सेमेस्टरमा इन्टर्नशिपको व्यवस्था गरिएको छ। यस अवधिमा विद्यार्थीहरूले आफ्नो ज्ञानलाई वास्तविक कामकाजमा प्रयोग गर्न सक्नेछन्। इन्टर्नशिपका लागि स्वदेश वा विदेशमा अवसर पाउन सकिने हुँदा यो कार्यक्रम थप उपयोगी हुने युनिग्लोब कलेजका प्रिन्सीपल डा.नर बहारदुर विष्टले बताउनु भयो । यसले उनीहरूको सीप र अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउँन मद्धत गर्ने डा. विष्टको भनाई थियो ।

नेपालमा पहिलो पटक एमबिए कार्यक्रमलाई ट्राइमेस्टर प्रणालीमा सञ्चालन गरिएको छ। ४ महिनाको एक ट्राइमेस्टर र ६ ट्राइमेस्टर पूरा गरी २ वर्षभित्र अध्ययन समाप्त गर्न सकिन्छ। यसले छोटा तर समयसापेक्ष कोर्सहरू समावेश गर्न सहज बनाएको छ।

व्यावहारिक, सहभागीमूलक र रोजगारीमूलक शिक्षालाई प्राथमिकता दिँदै पाठ्यक्रमले विद्यार्थीलाई दक्ष व्यवस्थापक, उद्यमी, र अनुसन्धानकर्ता बनाउन सहयोग पुर्‍याउनेछ। पोखरा विश्वविद्यालयले क्रेडिट ट्रान्सफरको सुविधा पनि उपलब्ध गराएको छ, जसले अन्य विश्वविद्यालयको मान्यता प्राप्त कोर्सलाई अपनाउने अवसर दिन्छ।

विद्यार्थीहरूले अध्ययनको क्रममा नै व्यवसाय वा रोजगारीमा जोडिन सक्ने भएकाले यो कार्यक्रम नेपालको शैक्षिक क्षेत्रको अभूतपूर्व कोसेढुंगा बनेको छ ।

सम्बन्धित समाचार