अमेरिकी विदेश मन्त्रालयले विश्वभरका आफ्ना दूतावास तथा कन्सुलेटहरूलाई नयाँ निर्देशन जारी गर्दै विद्यार्थी तथा सन्दर्भ भिजिटर (FMJ) भिसा आवेदन प्रक्रियामा कडाइ गर्न आदेश दिएको छ। CNN का अनुसार अबदेखि भिसा आवेदनकर्ताको सामाजिक सञ्जाल, अनलाइन गतिविधि, तथा राजनीतिक सोचसमेत आधार बनाएर गहिरो छानबिन गरिनेछ।
विदेश मन्त्रालयको बुधबार जारी निर्देशन अनुसार:
“FMJ भिसा आवेदकहरूको ‘सम्पूर्ण अनलाइन उपस्थिति’ अध्ययन गरिनुपर्नेछ। अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा मुलभूत सिद्धान्तप्रति शत्रुतापूर्ण सोच राख्नेहरूलाई प्रवेश नदिने व्यवस्था मिलाउनुपर्छ।”
मुख्य निर्देशनहरू:
- सोशल मिडिया प्रोफाइलहरू सार्वजनिक (public) राख्नुपर्ने, लुकाइएको वा सीमित पहुँच भएको खण्डमा शंका लाग्ने व्यवहार मानिने।
- अमेरिकी विरोधी सोच, हिंसात्मक राजनीतिक गतिविधिमा संलग्नता, वा आतंकवादी क्रियाकलापलाई समर्थन जनाउने आवेदकहरूको भिसा अस्वीकृत हुन सक्ने।
- अनलाइन खोज इन्जिनहरू, भित्रि डाटाबेस प्रयोग गरी आवेदकबारे जानकारी संकलन गरिने।
- सङ्कलित प्रमाणहरू स्क्रिनसट गरेर सुरक्षित राख्न वाणिज्य दूतावासका कर्मचारीहरूलाई निर्देशन।
विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित केबलमा भनिएको छ:
“हामी यस्तो कार्यकर्ता भित्र्याउन चाहँदैनौँ, जसले अमेरिकी विश्वविद्यालयको शैक्षिक वातावरण विघटन गर्ने सम्भावना राख्छ।”
विदेश मन्त्रालयले यस्तो निर्णय एफबीआईको चेतावनीलाई आधार बनाउँदै लिएको बताइएको छ, जसअनुसार विदेशी शक्तिहरूले अमेरिकी विश्वविद्यालयहरूलाई प्राविधिक जानकारी चोर्न, अनुसन्धान दुरुपयोग गर्न र राजनीतिक उद्देश्यका लागि भ्रम फैलाउन प्रयोग गर्ने गरेका छन्।
भिसा प्रक्रिया फेरि सुरु हुने तर…
मे महिनाको अन्त्यदेखि रोकिएको विद्यार्थी भिसा आवेदन पुनः सुरु गर्न निर्देशन दिइएको भए तापनि अब नयाँ छानबिनका मापदण्डहरू लागू भएपछि नियुक्ति समय र भिसा प्रक्रियामा ढिलाइ हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच, J-1 चिकित्सकहरू र त्यस्ता अमेरिकी विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीहरू, जहाँ अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या १५ प्रतिशतभन्दा कम छ, तिनीहरूको भिसा प्रक्रिया प्राथमिकतामा राख्न भनिएको छ।