शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेको छ।
त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि गठन गरिएको छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो।
समितिले २०८३ वैशाख २४ गते स्वीकृत “विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम बिहीबारको गोरखापत्रमा सूचना प्रकाशन गरी आवेदन माग गरेको हो।
इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np मा आवेदन दिन सक्नेछन्। मन्त्रालयले सम्बन्धित कार्यविधि पनि आफ्नो वेबसाइटमा राखिएको जनाएको छ।