हजारौं कन्सल्टेन्सी सञ्चालनमा, दर्ता भएका भने ७ सय ६० मात्रै

शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२८३ का लागि नवीकरण भएका शैक्षिक परामर्शदातृ संस्थाहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयले २०८३ जेठ ६ गते सचिवस्तरीय निर्णयमार्फत दर्ता नवीकरण भएका ७ सय ६० परामर्शदातृहरुको सूची प्रकाशन गरेको हो।

मन्त्रालयले जारी गरेको सूचनामा हालसम्म नवीकरण प्रक्रिया पूरा गरेका संस्थाहरूलाई मात्र वैधानिक रूपमा शैक्षिक परामर्श सेवा सञ्चालन गर्न अनुमति रहेको उल्लेख गरिएको छ। साथै विद्यार्थी, अभिभावक तथा सेवाग्राहीलाई शैक्षिक परामर्श, विदेश अध्ययन तथा सम्बन्धित सेवा लिँदा मन्त्रालयबाट स्वीकृत तथा नवीकरण भएका संस्थाको विवरण पहिचान गरेर मात्र सेवा लिन आग्रह गरिएको छ।

सूचनामा शैक्षिक परामर्शदातृ संस्थाहरूलाई आफूले स्वीकृति प्राप्त गरेको सेवाको दायराभित्र रही सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ। मन्त्रालयले अनधिकृत सेवा सञ्चालन नगर्न तथा प्रचलित नियमअनुसार मात्रै सेवा प्रदान गर्न पनि सचेत गराएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार नवीकरण सूचीले विद्यार्थी तथा अभिभावकलाई विश्वसनीय संस्था छनोट गर्न सहज हुने विश्वास गरिएको छ। मन्त्रालयले आगामी दिनमा पनि शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नियमित अनुगमन तथा नियमनलाई थप प्रभावकारी बनाइने जनाएको छ।

सरकार अहिले दर्ता तथा नवीकरण बिना सञ्चालन भइरहेका संस्थामाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको जनाएको छ। मन्त्रालयले अनुमति नलिई सञ्चालन भइरहेका संस्था पहिचान, अनुगमन तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

सम्बन्धित समाचार