काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ को छात्रवृत्तिका लागि २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएका छन् । आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा तथा ६ जना अन्य रहेका छन् ।
शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्का का अनुसार हालसम्म २३ हजार ४९९ आवेदन स्वीकृत भइसकेका छन् । यद्यपि ३ हजार ३०२ जना आवेदकको विवरण त्रुटिपूर्ण देखिएकाले मोबाइल र इमेलमार्फत सच्याउन सूचना पठाइएको छ । सम्बन्धित आवेदकले भोलि दिउँसो १२ बजेसम्म विवरण सच्याएर पुनः पेश गर्नुपर्नेछ ।
अनलाइन प्रणालीमार्फत आवेदन दिन कठिनाइ हुने अभिभावक तथा विद्यार्थीलाई सहजीकरण गर्न शिक्षा विभागमा सहायता कक्ष स्थापना गरिएको महानगरले जनाएको छ । सहायता कक्षबाट आवेदनसम्बन्धी सहयोग लिन सकिने व्यवस्था गरिएको छ ।
यसैबीच, हालसम्म ८४ वटा आवेदन अस्वीकृत भएका छन् । एउटै कागजात सबै स्थानमा अपलोड गरिएको, अनावश्यक कागजपत्र समावेश गरिएको तथा आवश्यक विवरण नपुगेका कारण आवेदन अस्वीकृत गरिएको जनाइएको छ । महानगरले तोकिएको समयभित्र अनिवार्य कागजात अपलोड नगरेमा वा विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुने स्पष्ट पारेको छ । आवेदन स्वीकृत गर्ने प्रक्रिया जेठ १३ गतेसम्म सञ्चालन हुनेछ ।
फाराम स्वीकृत भएका विद्यार्थीले जेठ १४ गते बिहान १० बजेदेखि आवेदन दिएको वेबसाइटमार्फत प्रवेशपत्र डाउनलोड गरी रंगीन प्रिन्ट निकाल्न सक्नेछन् । परीक्षा केन्द्र तथा परीक्षा सम्बन्धी विस्तृत जानकारी प्रवेशपत्रमै उल्लेख हुने जनाइएको छ ।
विषयगत रूपमा हेर्दा विज्ञान संकायमा सबैभन्दा बढी आकर्षण देखिएको छ । विज्ञान विषयमा १८ हजार ९९६ जनाले आवेदन दिएका छन् । त्यस्तै व्यवस्थापनमा ७ हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ तथा मानविकीमा ७९ जनाको आवेदन परेको छ ।
काठमाडौँ महानगरपालिकाले कक्षा १० सम्मको छात्रवृत्ति वडास्तरीय समितिको सिफारिसका आधारमा उपलब्ध गराउँदै आएको छ । तर कक्षा ११ र १२ का लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरी नतिजाका आधारमा छात्रवृत्तिका लागि सिफारिस गर्ने व्यवस्था रहेको छ ।
परीक्षापछि योग्यताक्रम सूची सार्वजनिक गरिनेछ । त्यसपछि ‘म्याचिङ लिष्ट’ मार्फत नाम सिफारिस गरिने र छनोट भएका विद्यार्थीले कक्षा ११–१२ अध्ययनका क्रममा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु नपर्ने महानगरले जनाएको छ ।