उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाका लागि २४ घण्टे बीमा व्यवस्था गर्न कतार सरकारलाई आग्रह गरेका छन्।आज लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा नेपालका लागि कतारका राजदूत मिशाल बिन मोहम्मद अली अल अन्सारीसँगको भेटमा उपराष्ट्रपतिले कतारमा मृत्यु वा घाइते भएका नेपाली श्रमिकहरूको उद्धार, उचित क्षतिपूर्ति प्रदान गर्न, साथै अस्पताल, निर्वासन केन्द्र, र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरे।भेटमा उपराष्ट्रपतिले भने, “कतारमा हाल ६७ जना नेपाली जेल सजाय भोगिरहेका छन्, र धेरै नेपाली कागजविहीन अवस्थामा छन्। महामहिमलाई आममाफी दिन, जेल सजाय घटाउन, र कागजातविहीन नेपालीलाई काममा फर्कन वा नेपाल फर्कन सहयोग गर्न अनुरोध गर्दछु।”उपराष्ट्रपतिले नेपाल र कतारबीचको घनिष्ठ सम्बन्धको प्रशंसा गर्दै बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा दुवै देशले पारस्परिक हित र चासोमा सहकार्य गरिरहेकोमा खुशी व्यक्त गरे। साथै, नेपाली नागरिक विपिन जोशीलगायत अन्य बन्धकको रिहाइका लागि कतारको मध्यस्थताको सराहना गरे।राजदूत अन्सारीले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिंदै, नेपालमा लगानी प्रवर्द्धन र संरक्षणका पक्षमा आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले कतारमा हाल चार लाख नेपाली कामदार रहेको जानकारी दिंदै, उनीहरूको हितका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
उपराष्ट्रपतिद्वारा कतारमा कार्यरत नेपाली श्रमिकका लागि २४ घण्टे बीमा र उद्धारमा सहयोगको आग्रह