किवीको बिरुवाबाट बार्षिक पाँच लाख आम्दानी

डडेल्धुराका लक्ष्मण थापामगरले किवीको बिरुवा बिक्री गरेर वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन्। उनले तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् र अहिले डडेल्धुरामा उत्पादित विभिन्न प्रकारका किवी बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्दैछन्। फार्ममा रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विनजस्ता किवीका छ प्रजातिका बिरुवा उत्पादन र बिक्री भइरहेका छन्।

थापामगरले लामिटुडा स्थित फार्मको शाखा अमरगढी(२ कुस्मालीमा पनि स्थापना गरेका छन्। १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवी खेती गर्दै उनले किवीको बेर्नासमेत उत्पादन गरेका छन्। अहिले उनका फार्ममा पाँच हजार बिरुवा उत्पादन भइरहेको र ती सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको थापाले जानकारी दिए।

किसानहरूको मागअनुसार किवीका बोट रु १ सय ५० प्रति बिरुवा बेच्दै आएका थापाले किवीको बेर्ना उत्पादन गर्न डेढ रोपनी क्षेत्रफलमा काम गर्दैछन्। बेर्ना जोगाउन एक–एक हप्तामा गोडमेल गर्नुपर्ने जानकारी दिएका थापाले किवीखेती सुरु गर्दा प्रति बिरुवा रु ५०० को दरले किनेर लगाएको बताए।

सम्बन्धित समाचार