नेताहरुको नाम दुरुपयोग गरी पैसा उठाउने प्रयास, अमेरिकी नागरिक नियन्त्रणमा

केपी शर्मा ओली, गगन थापा, आरजु राणा देउवालगायत राजनीतिकहरूको नाम अनुमति बिना कलेजको वेबसाइटमा राखी अन्तर्राष्ट्रिय स्तरमा फण्ड संकलन गर्ने प्रयास गरेको आरोपमा एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।

अध्यागमन स्रोतका अनुसार ललितपुरको सानेपामा रहेको नेपाल इन्टरनेशनल कलेज (NI College) को वेबसाइटमा Our Dynamic Teams शीर्षकअन्तर्गत १३ जना चर्चित व्यक्तिहरूलाई कलेजको टिम सदस्यका रूपमा उल्लेख गरिएको पाइएको हो। यसैगरी लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भन्दै अन्य प्रतिष्ठित नेपालीहरूको नाम समेत राखिएको भेटिएको छ, जसले कलेजको विश्वसनीयता कृत्रिम रूपमा बढाउने उद्देश्य देखिएको छ।

कलेजले कोरियन स्टडिज, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस स्टडिजलगायतका विषय अध्यापन गराउने दाबी गरेको छ। वेबसाइटमा त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालय दुवैबाट सम्बन्धन प्राप्त भएको प्रचार गरिए पनि त्यसको आधिकारिक प्रमाण पेश गर्न नसकेको अध्यागमनले जनाएको छ। कानुनअनुसार एउटै कलेजले दुई विश्वविद्यालयसँग एकैपटक सम्बन्धन लिन नपाउने व्यवस्था छ।

नियन्त्रणमा परेका ती अमेरिकी नागरिक सन् २०१४ देखि पर्यटक, वर्किङ र व्यावसायिक भिसामा पटक–पटक नेपाल आएको र करिब ५० भन्दा बढी पटक नेपाल भ्रमण गरेको खुलेको छ। उनी नेपालमा COMSEED NEPAL PVT. LTD. नामक कम्पनी दर्ता गरी व्यावसायिक भिसामा बस्दै आएको तथा विभिन्न गतिविधिमा संलग्न रहेको अनुसन्धानबाट देखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अध्यागमन विभागले जनाएको छ।

सम्बन्धित समाचार