काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘नागरिक करार’ सार्वजनिक गरेको छ। पार्टीले २०८२ साल फागुन २१ गते सार्वजनिक गरेको उक्त करारमा सुशासन, मध्यम वर्ग विस्तार, रोजगारी सिर्जना, पूर्वाधार विकास र प्रवासी नेपालीको हकहितलाई प्राथमिकतामा राखिएको जनाएको छ।
पार्टीले नागरिकसँग प्रत्यक्ष प्रतिबद्धता जनाउँदै भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्ने, राज्य संयन्त्रमा नीतिगत तथा संरचनागत सुधार गर्ने र डिजिटल प्रविधिमार्फत पारदर्शिता बढाउने उल्लेख गरेको छ। सार्वजनिक सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउने प्रतिवद्धता पनि करारमा समेटिएको छ।
त्यस्तै, मध्यम वर्ग विस्तारका लागि प्रतिव्यक्ति आय वृद्धि गर्ने, गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवामा पहुँच विस्तार गर्ने तथा आन्तरिक आर्थिक सुधारमार्फत उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य राखिएको छ।
रोजगारीका सन्दर्भमा पार्टीले युवाको वैदेशिक पलायन रोक्ने गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने, कृषि, उद्योग, पर्यटन र सेवा क्षेत्रलाई प्राथमिकतामा राख्ने योजना अघि सारेको छ।
पूर्वाधार विकासतर्फ गुणस्तरीय सडक सञ्जाल विस्तार, स्वच्छ खानेपानी, विद्युत् आपूर्ति र डिजिटल पूर्वाधार विस्तारलाई प्राथमिकता दिइने जनाइएको छ।
प्रवासी नेपालीका हकमा सुरक्षित, सम्मानित र व्यवस्थित वैदेशिक रोजगारी, लगानीमैत्री वातावरण तथा गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता पनि करारमा समावेश गरिएको छ।
पार्टीले पाँच वर्षभित्र उल्लेखित प्रतिबद्धता कार्यान्वयन गर्ने दाबी गर्दै, वाचा पूरा गर्न नसकेमा राजनीतिक नैतिकताको आधारमा जवाफदेही हुने उल्लेख गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकको विश्वासलाई ‘मत’ मात्र नभई ‘करार’को रूपमा लिएको भन्दै जनसमर्थनका आधारमा देशमा सुशासन र समृद्धि स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।