गैरआवासीय नेपाली नागरिकलाई १० वर्षसम्म निःशुल्क भिसा दिने गरी सरकारले ल्याएको अध्यादेशप्रति गैर आवासिय नेपाली संघले असन्तुष्टि जनाएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गैरआवासीय नेपाली नागरिकताप्राप्त व्यक्तिलाई १० वर्ष सम्म निःशुल्क भिसा दिनेगरी कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले सरकारको यस निर्णय सकारात्मक भएपनि आफूहरुले यसलाई आंशिक उपलब्धीका रूपमा लिएको बताएका छन । आर्थिक, सांस्कृतिक, सामाजिक अधिकारसहितको नागरिकताको कार्यान्वयनमा नै हाम्रो जोड हो । उनले १० वर्षको निःशुल्क भिसा मात्रै होइन, भिसा नै नचाहिने व्यवस्था संविधानको मर्म रहेकाले सोही बमोजिम हुनुपर्ने माग गरेका छन ।
एनआरएनएका महासचिव गौरीराज जोशीले भने सरकारले ल्याएको अध्यादेशले गैरआवासीय नेपालीको संविधानप्रदत्त अधिकार खोसिएको आरोप लगाएका छन । उनले गैरआवासीय नेपाली नागरिकता लिएपछि नेपाल आवत–जावत गर्दा भिसा लिनुपर्ने व्यवस्था नै गलत भएको वताए ।लगानीमा पनि विभेदपूर्ण नीति लिइएको भन्दै जोशीले यी विधेयकहरू परिमार्जन गर्न सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एक ठाउँमा उभिएर दबाब सिर्जना गर्न आग्रह समेत गरेका छन् ।
गैरआवासीय नागरिकता बाहकले नेपालमा भिसा नलिइ सहजै आवतजावत गर्न पाउनुपर्ने व्यवस्था सरकारले लागू गर्नुपर्ने माग एनआरएनएको छ । नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो ।