हालै नेपाल सरकारले केही सामाजिक सञ्जालहरूको पहुँच रोक्दा, विदेशमा रहेका नेपाली युवाहरू आफ्नो परिवारसँग सम्पर्क राख्न ठूलो चुनौतीमा परेका छन्।
विदेशमा काम गरिरहेका युवाहरूले सामान्यतया मेसेन्जर तथा ह्वाट्सएप जस्ता एपमार्फत परिवारसँग निःशुल्क संवाद गर्दै आएका थिए। तर नेपालमा यी एपहरूको पहुँच अवरुद्ध भएपछि अब उनीहरूले फोन कल गर्नुपर्ने भएको छ, जसको खर्च उनीहरूको लागि धेरै महँगो परेको छ।
परिवारका सदस्यहरूले पनि नियमित रूपमा आफ्ना छोराछोरी वा आमाबाबुसँग सम्पर्क राख्न कठिनाइ भोगिरहेका छन्। साउदी अरेबियामा कार्यरत सुर्य खड्का भन्छन्, “पहिले त मेसेन्जरमा कुरा गर्थ्यौं, अब फोन गर्नै पर्ने भयो, खर्च निकै बढ्यो।”
डिजिटल सञ्चारमा निर्भरता बढेसँगै, सामाजिक मिडियामा रोकले विदेशमा रहेका कामदार र परिवारबीचको सम्बन्धमा असर पार्न सक्ने सरोकारवालाहरुको भनाई छ । वैदेशिक रोजगारमा भएका श्रमिकका लागि परिवारसँग सम्पर्क गर्न सामाजिक संजाल अत्यन्त सरल र सहज माध्याम भएकाले रोक्न नहुने उनीहरु बताउछन् ।