इम्पेरियल वर्ल्ड स्कूलले १४ मार्च, अर्थात् पाइ (π) दिवस, गणितको महत्वलाई उजागर गर्दै विशेष कार्यक्रमसहित मनाएको छ। गणितीय शिक्षालाई व्यवहारिक बनाउन तीन वर्षदेखि म्याथ पार्क सञ्चालन गर्दै आएको इम्पेरियलले यस वर्ष पनि गणित प्रदर्शनी र गणित सम्मेलन आयोजना गरेको हो।
गत शुक्रबार गणित प्रदर्शनी सम्पन्न गरेको विद्यालयले आइतवार गणितका विशेषज्ञ तथा शिक्षकहरूका लागि विशेष कार्यशाला सहित सम्मेलन सम्पन्न गर्यो। सम्मेलनको उद्घाटन नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा। डा। लेखनाथ शर्माले गरेका थिए। उनले गणित बुझ्ने र यसको व्यवहारिक प्रयोगलाई बढावा दिन यस्ता सम्मेलनहरू निकै महत्वपूर्ण हुने बताउँदै गणित शिक्षालाई सरल र प्रभावकारी बनाउन राष्ट्रिय स्तरमै पहल आवश्यक रहेको धारणा राखे।

गणित सम्मेलनमा प्रमुख वक्ताका रूपमा त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन प्रा। डा। बेदराज आचार्यले वर्तमान शिक्षण प्रणाली तथा गणित सिकाइको प्रभावकारिता विषयमा आफ्नो प्रस्तुति दिएका थिए। राजधानीका ३० भन्दा बढी विद्यालयका गणित शिक्षकहरू तथा आमन्त्रित गणितविद्हरूले गणित शिक्षाको वर्तमान अवस्था, यसको व्यवहारिक उपयोग, आधुनिक प्रविधिसँगको सम्बन्ध, तथा गणित सिकाइलाई रुचिकर बनाउन सकिने उपायहरूबारे गहन छलफल गरेका थिए।

वक्ताहरूले गणित क्षेत्रमा करिअर निर्माणका सम्भावना, अनुसन्धान अवसरहरू, तथा नवीनतम शिक्षण विधिहरूको विषयमा समेत चर्चा गरेका थिए। गणित शिक्षाको प्रवर्द्धनका लागि इम्पेरियल स्कूलले आयोजना गरेको सम्मेलन तथा गणित प्रदर्शनीलाई गणितविद्हरूले उच्च मूल्यांकन गरेका थिए।
तीन वर्षअघि स्थापना गरिएको म्याथ पार्कमार्फत व्यवहारिक सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताउँदै इम्पेरियल स्कूलका अध्यक्ष कुमार कार्कीले विद्यार्थीहरूको सिकाइ प्रभावकारी बनाउन थप प्रयासहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

इम्पेरियलले वर्षेनी पाइ दिवस मनाउदै आएको भन्दै प्रिन्सीपल जुनिता कार्कीले आफ्ना शिक्षकसँगै समुदायमा रहेका विद्यालयका गणित विषयका शिक्षकहरुको समेत क्षमता विकास गराउने उदेश्यले सम्मेलन गरिएको बताए ।
सम्मेलनमा सहभागी गणित शिक्षकहरूले प्राप्त गरेका नयाँ विधि तथा शिक्षण पद्धतिहरू कक्षाकोठामा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। साथै, निजी तथा सामुदायिक विद्यालयहरूबीचको सहकार्यले शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान दिइरहेको पनि उनीहरूले उल्लेख गरेका थिए।

पाइ दिवसकै अवसरमा गत शुक्रबार विद्यालय परिसरमा गणित प्रदर्शनी आयोजना गरिएको थियो, जहाँ इम्पेरियलका विद्यार्थीहरूले नवीनतम अनुसन्धान, गणितीय क्विज, डिजिटल गणितीय मोडेल, तथा रचनात्मक प्रस्तुतीकरण प्रदर्शन गरेका थिए। बुढानिलकण्ठ क्षेत्रका विभिन्न विद्यालयबाट ५०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरू प्रदर्शनी अवलोकन गर्न आएका थिए।

प्रदर्शनीको अवलोकन गरेका अभिभावकहरूले विद्यालयले अपनाएको व्यवहारिक सिकाइ पद्धतिको प्रशंसा गरेका थिए।
You must be logged in to post a comment.