नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वका लागि चुनावी माहौल तातिएको छ। तर यसपटक अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा रहेको टिमले नव(आकांक्षी उम्मेदवारहरूको एक प्रमुख चुनावी एजेन्डा—संघको आफ्नै भवन बनाउने विषय—लाई नै समाधान गरिदिएका छन्। संघले काठमाडौंको सिफलमा साढे ६ आना क्षेत्रफलमा बनेको भवन ४ करोड ३० लाख रुपैयाँमा खरिद गरेपछि यो पटक चुनावमा होमिएका व्यवसायीका नेताहरुको एजेण्डाको सूचिमा भवनको विषय हटेको हो ।
सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उक्त भवनको औपचारिक उद्घाटन गरेका छन्। संघ स्थापनाको ३३ वर्ष पूरा हुँदा वैदेशिक रोजगार व्यवसायीहरूको साझा संस्था अब आफ्नै भवनमा प्रवेश गर्न सफल भएको छ।
भवन खरिदका लागि २३५ जना व्यवसायी तथा शुभेच्छुकहरूको आर्थिक सहयोग गरेका छन्। भवन खरिदका लागि विशेष गरी ‘द रिभर ओभरसिज’का अध्यक्ष रघु पुरी र ‘प्याराडाइज इन्टरनेशनल’का अध्यक्ष नवराज केसीले उल्लेखनीय भूमिका खेलेका थिए। पुरीले १४,५१,१०६ रुपैयाँ र केसीले १३,३३,३३३ रुपैयाँ आर्थिक सहयोग गरेका थिए।
भवन खरिदमा द रिभर र प्याराडाइजसँगै अन्य ३० जना व्यवसायीहरूले ५ लाख रुपैयाँभन्दा बढीको योगदान गरेका थिए। आफ्नै भवन बनाउन नसकेको नेपाल स्वास्थ्य व्यवसायी महासंघले समेत संघलाई १० लाख रुपैयाँको सहयोग उपलब्ध गराएको थियो।
अघिल्ला वर्षहरूमा समयमै घरभाडा तिर्नसमेत नसक्ने अवस्थाबाट गुज्रेको संघका लागि भवन खरिद ऐतिहासिक उपलब्धि हो। यसले आगामी नेतृत्वको कार्यसम्पादनमा थप सहजता ल्याउने विश्वास गरिएको छ। यद्यपि, वैदेशिक रोजगार व्यवसायमा देखिएका विकृति र विसंगतिहरूलाई हटाउँदै यसलाई व्यवस्थित र सम्मानजनक बनाउन सक्ने सक्षम नेतृत्व छान्न व्यवसायीहरू सचेत रहनुपर्ने देखिन्छ।
Video: https://youtu.be/GKBjZBHfpOQ