त्रिभुवन विश्वविद्यालयका ट्रान्सक्रिप्ट र सर्टिफिकेट सेवा अब अनलाइनबाटै

अब त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरिएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार, आज बिहान ११ बजेदेखि यो सेवा सञ्चालनमा आएको हो। उनले अन्य सेवा सुविधा पनि क्रमिक रूपमा अनलाइनमार्फत प्रदान गरिने जानकारी दिए।

उनका अनुसार, आगामी जेठ १५ गतेदेखि त्रिविको बल्खुस्थित परीक्षा नियन्त्रक कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा प्रणाली अनलाइनमार्फत मात्र सञ्चालन हुनेछ।

रजिष्ट्रेशन कार्डमा भएका विवरण र मार्कसीटहरूमा एकरूपता भए सोही अनुसार फारम भर्न सकिन्छ। यदि विवरणहरूमा फरक परेमा “Correction” विकल्पमा गई आवश्यक सच्याइ गरेर मात्र आवेदन अगाडि बढाउनु पर्नेछ।

अनलाइन प्रणाली लागू हुनु अघि वितरण गरिएका पहेँलो रंगका सक्कल मार्कशीटमा विवरण फरक परेमा, एप्लिकेशन आइडीको स्लिपसहित ती मार्कशीट गोप्य शाखामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

विद्यार्थीहरूले आवेदन दिनका लागि student.tuexam.edu.np मा लगइन गरी त्यहाँ दिइएका निर्देशनहरू पालना गर्दै फारम भर्नुपर्नेछ। त्यसपछि तोकिएको शुल्क तिरेर आवेदन पेश गर्न सकिनेछ।

सम्बन्धित समाचार