विदेशी नागरिक व्यवस्थापन प्रणाली FNMIS बारे कन्सुलरहरूसँग छलफल

विदेशी नागरिकको सुरक्षा र व्यवस्थापन सुदृढ बनाउन अध्यागमन विभागले FNMIS कार्यान्वयनमा ल्याएको छ। सोही प्रणालीबारे साझा बुझाइ कायम गर्न अध्यागमन विभागले नेपालस्थित विभिन्न दूतावास तथा नियोगका कन्सुलरहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कन्सुलर विभागको समन्वयमा आयोजित कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले FNMIS बाट संकलित तथ्यांक विदेशी नागरिकको सुरक्षा, अनुसन्धान, आपतकालीन उद्धार तथा सूचनामा सहजीकरणका लागि उपयोगी हुने बताउनुभयो। उहाँले प्रणाली कार्यान्वयनपछि विदेशी नागरिकमाथि कुनै थप दायित्व नथपिने र सेवा प्रदायक निकायमार्फत आवश्यक सूचना प्राप्त हुने स्पष्ट गर्नुभयो।

कन्सुलर विभागका महानिर्देशक दुरपदा सापकोटाले नेपालले पक्ष राष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सम्झौताअनुसार दायित्व पूरा गर्न प्रणाली विकास गरिएको उल्लेख गर्दै व्यक्तिगत तथ्यांक सुरक्षाका विषयमा दूतावास तथा नियोगहरूलाई विश्वस्त हुन आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी विभिन्न देशका नियोग प्रतिनिधिहरूले प्रणाली सञ्चालन, तथ्यांक सुरक्षा र नियोगहरूको भूमिकाबारे जिज्ञासा राखेका थिए।

अध्यागमन विभागका अनुसार FNMIS को शुभारम्भ गृहमन्त्री ओमप्रकाश अर्यालले २०२६ जनवरी १ मा गर्नुभएको हो। प्रणाली पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य गरिएको छ भने आगामी चरणमा देशभरका होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स, मनी एक्सचेञ्जरलगायत सेवा प्रदायक निकायमा विस्तार गरिनेछ। हालसम्म १,५०० भन्दा बढी सेवा प्रदायक संस्था प्रणालीमा आबद्ध भइसकेका छन्।

सम्बन्धित समाचार