जापानमा नेपाली श्रमिकको रोजगारी प्रवर्द्धन तथा नेपाल–जापान श्रम सहकार्यलाई अझ सुदृढ गर्ने उद्देश्यले टोकियोमा नेपाल–जापान दोस्रो रोजगार सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन जापानका न्यायमन्त्री हिरोशी हिरागुची, नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले संयुक्त रूपमा गरेका थिए।

टोकियो महानगरीय औद्योगिक व्यापार केन्द्र हामामात्सुचो–कानमा आयोजित सम्मेलनमा नेपालबाट ३८ वटा म्यानपावर कम्पनी र करिब एक सय व्यवसायी सहभागी भएका थिए भने जापानतर्फबाट झन्डै पाँच सय रोजगार व्यवसायीको सहभागिता रहेको थियो।
उद्घाटन समारोहमा जापानी पक्षले इमानदार र दक्ष नेपाली श्रमिकप्रति उच्च चासो व्यक्त गर्दै भविष्यमा थप सहकार्यको अपेक्षा गरेका थिए। श्रमसचिव डा. काफ्लेले रोजगारीको खोजीमा रहेका नेपालीलाई जापान पठाउन सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै जापानमा रहेका नेपाली कामदारका समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताए।
कार्यवाहक राजदूत पौडेलले सीमित स्रोतसाधनका बाबजुद दूतावासले व्यवसायीलाई छिटो र प्रभावकारी सेवा दिइरहेको उल्लेख गर्दै भाषा र सीपमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली व्यवसायीहरूलाई आग्रह गरे।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरूले नेपाल–जापान भर्ती डेस्क स्थापना गर्नुपर्नेमा जोड दिँदै यसले दुवै देशबीच नीतिगत सुधार, निरन्तर संवाद र संस्थागत सहकार्यलाई मजबुत बनाउने धारणा राखेका थिए।
उद्घाटन सत्रपछि करिब पाँच घण्टा रोजगार मेला सञ्चालन गरिएको थियो। मेलामा सहभागी संस्थाहरूले आ–आफ्ना स्टलमार्फत जानकारी आदानप्रदान गरेका थिए।
You must be logged in to post a comment.