वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल जाँचमा भइरहेको ठगी र ‘सिन्डिकेट’ सम्बन्धी छानबिन प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय रूपमा गायब भएको छ। तत्कालीन श्रममन्त्री राजेन्द्र सिंह भण्डारीको नेतृत्वमा बनेको १६ सदस्यीय टास्कफोर्सले ३६ वटा मेडिकल संस्थामा अनुगमन गरी अनियमितताका प्रमाण संकलन गरेको थियो।
अनुगमनमा सरकारले तोकेकोभन्दा बढी शुल्क असुल्ने, परीक्षण नगरी रिपोर्ट दिने र अनावश्यक टेस्ट गराउने जस्ता बेथिति फेला परेको थियो। मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले प्रतिवेदन मन्त्रालयमा आधिकारिक रूपमा दर्ता नभएकाले फाइल फेला नपरेको बताएका छन्।
प्रतिवेदन गायब भएपछि कर्मचारी र मेडिकल माफियाबीच मिलेमतोको आशंका गरिएको छ। घटनाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई अनुसन्धानका लागि पत्राचार गरेको छ।