पद सम्हाल्दै अर्थमन्त्री वाग्ले को पहिलो कदम: १५ अव्यवहारिक ऐन हटाउने तयारी

नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले ले पद सम्हाल्दै आर्थिक सुधारलाई तीव्रता दिने संकेत दिएका छन्। रामचन्द्र पौडेल समक्ष शपथ लिएलगत्तै अर्थ मन्त्रालय पुगेका वाग्लेले औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन्।

कार्यभार सम्हाल्ने क्रममा उनले दीर्घकालीन आर्थिक सुधारका लागि ठोस कदम चालिने बताएका छन्। विशेषगरी, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग–२०८१ ले प्रस्तुत गरेका सिफारिसहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै केही कानुनी तथा संरचनात्मक परिवर्तनको प्रक्रिया अघि बढाइएको जानकारी दिए। यसअन्तर्गत राजस्व अनुसन्धान विभाग पुनर्संरचना वा खारेजीको विषय र विभिन्न ऐनहरूको संशोधन/खारेजी प्रक्रिया प्राथमिकतामा राखिएको उनले उल्लेख गरे।

अर्थतन्त्रको यथार्थ अवस्थाबारे स्पष्ट तस्वीर प्रस्तुत गर्न निकट अवधिमा ‘आर्थिक स्थितिपत्र’ सार्वजनिक गरिने तयारीसमेत गरिएको छ। साथै, सरकारको नीति तथा चुनावी प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना निर्माण गरिने उनले जानकारी दिए।

निजी क्षेत्रलाई भरोसायोग्य वातावरण प्रदान गर्दै लगानीमैत्री नीति ल्याउने, ठूला पूर्वाधार आयोजना अघि बढाउन प्रक्रियागत अवरोध हटाउने र आवश्यक कानुनी सुधार गर्ने विषयलाई आफ्नो कार्यकालको प्राथमिकतामा राखिएको वाग्लेले बताएका छन्। उनले विकास आयोजना कार्यान्वयनमा गति ल्याउनेतर्फ सरकार केन्द्रित रहने स्पष्ट पारे।

सम्बन्धित समाचार