नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।
पदभार ग्रहण गर्दै मन्त्री साहले आफ्नो पहिलो निर्णयस्वरूप व्यावसायिक तथा सीप विकास तालिमसम्बन्धी ५ वर्षे रणनीतिक योजना एक महिनाभित्र तयार पार्ने घोषणा गरेका छन्। उनले देशभित्रै रोजगारी सिर्जना र विदेशमा सम्मानजनक अवसर प्राप्त गर्नका लागि नेपाली युवाहरूलाई दक्ष बनाउनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार, सीपयुक्त जनशक्ति उत्पादन नै वर्तमान आवश्यकता भएकाले सीप विकासलाई मन्त्रालयको मुख्य प्राथमिकतामा राखिनेछ। साथै, उद्यमशीलता प्रवर्द्धनमार्फत युवाहरूलाई आत्मनिर्भर बनाउने दिशामा पनि ठोस कार्यक्रमहरू अघि बढाइने उनले स्पष्ट पारे।