सामाजिक सुरक्षा कोष श्रम मन्त्रालयबाट हट्यो, महिला मन्त्रालयलाई सञ्चालनको जिम्मेवारी

सरकारले १८ मन्त्रालयको नयाँ कार्यविभाजन लागू गरेसँगै विभिन्न मन्त्रालयको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ। यसक्रममा सामाजिक सुरक्षा कोषको जिम्मेवारी पनि परिवर्तन गरिएको छ। यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोष अब महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय मातहत ल्याइएको हो।

नयाँ कार्यविभाजन नियमावलीमार्फत सामाजिक सुरक्षासम्बन्धी नीति, कार्यक्रम र कोष व्यवस्थापनको जिम्मेवारी नयाँ मन्त्रालयलाई दिइएको सरकारले जनाएको छ।

त्यसैगरी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय बनाइएको छ । विज्ञान, अनुसन्धान र आधुनिक प्रविधिसम्बन्धी विस्तृत जिम्मेवारी सोही मन्त्रालयको रहनेछ । मन्त्रालयले विज्ञान तथा प्रविधिसम्बन्धी नीति, कानून र मापदण्ड निर्माणदेखि वैज्ञानिक, अन्तरिक्ष तथा खगोल विज्ञानसम्बन्धी अध्ययन–अनुसन्धान गर्नेछ। विज्ञान तथा प्रविधिको खोज, अनुसन्धान, आविष्कार र प्रवर्द्धन, पारमाणविक प्रविधि तथा रेडियोधर्मी पदार्थको नियमन, जैविक तथा आणविक प्रविधिको उपयोग र नियन्त्रण, ओजोन अध्ययन, सौर्य विकिरण मापन, वैज्ञानिक उपकरण प्रमाणीकरण तथा रासायनिक पदार्थको नियमनसम्बन्धी काम पनि यही मन्त्रालय अन्तर्गत रहनेछ।

मन्त्रालय संख्या २२ बाट घटाएर १८ कायम गरेपछि केही मन्त्रालय गाभिएका छन् भने कतिपय मन्त्रालयको कार्यक्षेत्र पुनःसंरचना गरिएको छ। सरकारले यो निर्णय प्रशासनिक खर्च कटौती, दोहोरो जिम्मेवारी अन्त्य तथा सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउन गरिएको जनाएको छ।

सम्बन्धित समाचार