नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वमा डिकबहादुर खत्री (कुमार) अध्यक्ष पदमा निर्वाचित भएका छन्। नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेकपा निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेस निकट केही व्यवसायीहरूको संयुक्त समूहबाट उम्मेदवार बनेका खत्रीले प्रतिस्पर्धीहरूलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन्।
निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट पूर्वमहासचिव मेघनाथ भुर्तेल तथा राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका तर्फबाट नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्व द्वितीय उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री मैदानमा थिए।
हालै सम्पन्न मतगणनाअनुसार अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी मेघनाथ भुर्तेलले १९२ मत तथा हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरेका छन्।
त्यसैगरी प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ मत), तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल (२५९ मत), महासचिवमा हरि डाँगी (२७३ मत), सचिवमा केदारनाथ अधिकारी (२९४ मत) तथा कोषाध्यक्षमा धनमाया सिन्जाली (३२३ मत) निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार प्रगतिशील प्यानलले १७ सदस्यीय कार्यसमितिमा उल्लेखनीय सफलता हासिल गरेको छ। प्यानलले सात पदाधिकारीमध्ये छ पद तथा १० कार्यसमिति सदस्यमध्ये आठ सदस्यमा विजय हासिल गरेको छ। यस्तै, एसोसिएसन प्यानलबाट तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल तथा सदस्यहरू गीता राउत र दीक्षा दाहाल निर्वाचित भएका छन्।