पर्यटक भिसामा व्यवसाय सञ्चालन गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

पर्यटक भिसामा नेपालमा बसोबास गर्दै भिसाको उद्देश्यविपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका दुवै पुरुष चिनियाँ नागरिकमाथि प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ। अनुसन्धानका क्रममा उनीहरूले सामाजिक सञ्जाल टिकटकमार्फत् प्रचारप्रसार गर्दै सम्पर्कमा आएका ग्राहकलाई विभिन्न खाद्य सामग्री बिक्री–वितरण गर्दै आएको खुल्न आएको छ।

प्रहरीका अनुसार उनीहरूले हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसलगायत खाद्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने भन्दै प्रचार गरे पनि ती सामग्री बजार मूल्यभन्दा महँगो दरमा बिक्री गर्ने गरेको पाइएको छ।

अनुसन्धानबाट ती नागरिकहरूले दुई वर्षअघि विदेशी लगानी भित्र्याई “LIU JUN Hotel with Restaurant” स्थापना गर्ने उद्देश्यले व्यवसायिक (बिजनेस) भिसा प्राप्त गरेको भए पनि प्रतिबद्धताअनुसार लगानी भित्र्याएको नदेखिएको तथा हाल पर्यटक भिसामा नेपालमा बसोबास गरिरहेको तथ्य फेला परेको छ।

त्यस्तै, उनीहरू सन् २०२४ मा चीनस्थित Tibet Huida International Trade तथा Xizang Shang Cheng Health Industries का बजार विश्लेषकका रूपमा नेपाल प्रवेश गरेको अभिलेख रहेको बताइएको छ। नेपालमा रहँदा गैरकानूनी रूपमा व्यावसायिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले नेपाली नागरिकको नाममा “Nepal Zangni Trading and Investment” नामक कम्पनी दर्ता गरी चिनियाँ कृषि फारामको नाममा व्यवसाय सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। उक्त कम्पनीको प्रचारप्रसार समेत टिकटकमार्फत् गर्दै आएको पाइएको छ।

सम्बन्धित समाचार