नेपालका व्यवसायीक शैक्षिक परामर्शदाता प्रतिनिधिहरूको संस्था इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभ्स इनिसिएटिभ अफ नेपाल (आइरिन) ले ‘नेपाल तथा विदेशमा उच्च शिक्षाका अवसर र चुनौती’ विषयमा राष्ट्रिय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
थापाथलीस्थित आरम्भ बैंक्वेटमा बिहीबार आयोजित कार्यक्रममा शिक्षाविद्, नीति निर्माता, शिक्षा व्यवसायी, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल र विदेशमा उच्च शिक्षाको बदलिँदो परिदृश्य, अध्ययनका अवसर, विद्यार्थीका आकांक्षा तथा शिक्षासम्बन्धी चुनौतीहरूबारे प्यानल छलफल गरिएको थियो।

कार्यक्रममा प्यानलिष्टको रुपमा युनिभर्सिटी अफ हर्टफोर्डशायर का निर्देशक डा. भानु कौशिक, युनिभर्सिटी अफ एडिलेड का दक्षिण एसिया क्षेत्रका वरिष्ठ प्रबन्धक अनुप श्रेष्ठ, पर्यटन तथा शिक्षा विज्ञ उज्ज्वल सत्याल तथा काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका सहप्राध्यापक एवं एसोसिएट डिन डा. खगेन्द्र आचार्यले आफ्ना धारणा राखेका थिए।
आईआईडीएसकी वरिष्ठ कार्यक्रम तथा अनुसन्धान सहायक स्नेहा घिमिरेले सहजीकरण गरेको कार्यक्रममा गुणस्तरीय उच्च शिक्षाको महत्व, नेपाल तथा विदेशमा अध्ययनका अवसर, रोजगारयोग्यता, विद्यार्थीको तयारी, उद्योग–शिक्षा सहकार्य तथा विश्वव्यापी श्रम बजारमा आवश्यक सीप विकासका विषयमा विशेष चर्चा भएको थियो।
वक्ताहरूले उच्च शिक्षा छनोट गर्दा विद्यार्थीले आफ्नो रुचि, आर्थिक क्षमता र दीर्घकालीन करिअर लक्ष्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। साथै, नैतिक शैक्षिक परामर्श, सीप विकास, वित्तीय तयारी तथा शैक्षिक संस्था, उद्योग र नीति निर्माताबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।
कार्यक्रमले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई स्वदेश तथा विदेशका शैक्षिक अवसरबारे जानकारी गराउनुका साथै नेपालको उच्च शिक्षा प्रणालीलाई नवप्रवर्तन, गुणस्तर अभिवृद्धि र अन्तर्राष्ट्रिय साझेदारीमार्फत थप सशक्त बनाउनुपर्नेमा जोड दिईएको थियो।
आईरिनका संस्थापक अध्यक्ष उत्तम प्रसाद पन्तले अब आफैले पठाएका विद्यार्थीहरुलाई स्वदेश फर्काउन उपर्युक्त वातावरण रहेको बताउनु भयो । कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै निवर्तमान अध्यक्ष हेमन्त भट्टराईले नेपाली विद्यार्थीहरुले शिक्षा लिने क्रममा नेपाल भित्र र विदेशमा सामाना गर्नुपर्ने चुनौतीहरुका वारेमा गम्भीर विश्लेषण आवश्यक रहेकाले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा युनिभर्सिटी अफ हर्टफोर्डशायर र योर्क सेन्ट जोन युनिभर्सिटी सह–आयोजक साझेदारका रूपमा रहेका थिए। त्यस्तै सफ्टवारिका कलेज, कलेज अफ आईटी एन्ड ई–कमर्स, एलबीईएफ क्याम्पस, नेशनल एजुकेशन कन्सल्टेन्सी, एडु–ब्रिज, स्टडी स्क्वायर, रुट टु युनि, युनिभर्सिटी अफ वर्सेस्टर तथा युनिभर्सिटी अफ इस्ट लन्डनलगायत संस्थाहरूले कार्यक्रमका लागि सहकार्य गरेका थिए।
सन् २०१४ मा स्थापना भएको आईरिनले नेपालमा नैतिक शैक्षिक परामर्श, गुणस्तरीय विद्यार्थी सेवा तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको व्यावसायिक मापदण्ड प्रवर्द्धन गर्दै आएको छ। संस्थाका अध्यक्ष योगेश क्षेत्रीले आईरिनले उच्च शिक्षा क्षेत्रका विषयमा यस्ता संवाद र सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने बताउनु भयो । कार्यक्रमका प्यानलिष्टहरुसँगै व्यवस्थापनमा सघाउने संघसंस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
You must be logged in to post a comment.