धेरै श्रमिक विदेश पठाउनेमा एसओएस पहिलो, नीलकमल दोस्रो र प्याराडाइज तेस्रो

पछिल्लो एक वर्षमा सबैभन्दा धेरै नेपाली श्रमिक विदेश पठाउने म्यानपावर कम्पनीको सूचीमा एसओएस म्यानपावर सर्भिस प्रालि पहिलो स्थानमा परेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा एसओएस मार्फत ४ हजार ७ सय ८२ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्।

दोस्रो स्थानमा नीलकमल ह्युमन रिसोर्स प्रालि रहेको छ, जसले ४ हजार १६ जना श्रमिक विदेश पठाएको छ। त्यसैगरी प्याराडाइज इन्टरनेशनल ३ हजार ७ सय ४६ श्रमिकसहित तेस्रो स्थानमा रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा भने प्याराडाईज इन्टरनेशनल र निलकमलले सबैभन्दा बढि ८ हजार ६ सय श्रमिक विदेश पठाएका थिए ।

गत आर्थिक वर्ष उत्कृष्ट १० को सूचीमा मोन्टाज ओभरसिज २ हजार ४ सय ३६, गल्फ म्यानपावर सर्भिसेस २ हजार २ सय ६४, द रिभर ओभरसिज २ हजार २ सय २२, लिङ्क इन्टरनेशनल प्लेसमेन्ट सर्भिस २ हजार २ सय २, एससीसी म्यानपावर कम्पनी २ हजार ६४ र लुलु इन्टरनेशनल २ हजार २३ जना श्रमिक विदेश पठाउँदै क्रमशः पाँचौँदेखि दशौँ स्थानसम्म पर्न सफल भएका छन्।

यस्तै, विभागका अनुसार पछिल्लो एक वर्षमा कुल ७ लाख ९२ हजार १ सय ८७ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला रहेका छन्।

गन्तव्य मुलुकको हिसाबले संयुक्त अरब इमिरेट्स नेपाली श्रमिकको सबैभन्दा ठूलो रोजगारी गन्तव्य बनेको छ। त्यसपछि क्रमशः मलेसिया, कतार, साउदी अरेबिया र कुवेत शीर्ष पाँच गन्तव्य मुलुकमा परेका छन्। यी पाँच देशमै सबैभन्दा धेरै नेपाली श्रमिकको श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकले देखाएको छ।

सम्बन्धित समाचार