प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियामा नेपाली श्रमिकको रोजगारीसँग जोडिएको सिन्डिकेट र बिचौलिया प्रथा अन्त्य गर्न मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग छलफल गर्नुभएको छ।
मंगलबार बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारीमा देखिएको सिन्डिकेट तथा बिचौलियातन्त्रका कारण नेपाली श्रमिकमाथि परेको असरबारे मलेसियाली समकक्षीसँग स्पष्ट रूपमा कुरा राख्नुभएको हो।
नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई पारदर्शी, मर्यादित र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले सिन्डिकेट र बिचौलियातन्त्र कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।
समस्या स्थायी रूपमा समाधान गर्न दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष वार्ता आवश्यक रहेको भन्दै उहाँले मलेसियाका श्रममन्त्रीलाई नेपाली श्रममन्त्रीसँग छलफल गरी आवश्यक कदम चाल्न आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री शाहले भन्नुभयो, “हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ।”
जवाफमा मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाको आफू विपक्षमा रहेको बताउनुभएको छ। उहाँले आफ्ना श्रममन्त्रीलाई नेपाली समकक्षीसँग तत्काल समन्वय गरी यस विषयमा ठोस निकास निकाल्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।