विदेशबाट फर्किएर उद्यम गरिरहेका उद्यमीहरुलाई गरिने राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि आवेदन माग

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका उद्यमीहरुलाई प्रदान गरिने राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि माघ ७ गतेसम्मको समयसीमा राखि आवेदन आह्वान भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पौष १६ गते सूचना जारी गरी विदेशबाट फर्किएर राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुको योगदानको कदरस्वरुप पुरस्कृत गर्न लागिएको जनाएको छ । आवेदन दिदाँ विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ को अनुसूची २ अनुसारको फारम भरी खामबन्दी गरि मन्त्रालयको इमेल ठेगाना मा पठाउन मन्त्रालयले आग्रह गरेको छ । आवेदनका लागि आवश्यक योग्यतामाहरु समेत सूचनामा उल्लेख गरेको छ । जसअनुसार कामको भिषामा विदेश गई कम्तिमा १ वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट नेपाल फर्की कम्तिमा १ वर्ष देखि व्यवासाय सञ्चालन गरिरहेको र विगत ५ वर्षभित्र मन्त्रालयको यहि प्रयोजनको पुरस्कारबाट पुरस्कृत नभएका उद्यमीले मात्र आवेदन दिन सक्नेछन ।

आवेदनसँग उद्यमीहरुले नेपाली नागरिकताको प्रतिलिपि, श्रमस्वीकृति को प्रतिलिपि, भिषा सहितको राहदानीको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, गत आ.व. २०८०/०८१ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र यस अघि पुरस्कार प्राप्त नगरेको स्वःघोषणा पत्र बुझाउनु पर्नेछ ।


सम्बन्धित समाचार