आइतबारबाट कार्यन्वयनमा आउदै इजरेल र हमासबीचको युद्धविराम सम्झौता

कतार र अमेरिकाको मध्यस्थतामा लामो प्रयासपछि इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ। यससँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरेली मन्त्रिपरिषद्‍बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहाइ समेटिएको जनाएका छन्। यसैबीच, युद्धविराम सम्झौतालाई इजरेली मन्त्रिपरिषद्‌ले गर्ने भनिएको अनुमोदनमा ढिलाइ भएको छ।

गाजामा हवाई हमला, कम्तीमा ‘८१ जनाको मृत्यु’

गाजामा युद्धविराम घोषणा भएपछि इजरेलले गरेका हवाई हमलाहरूमा परी कम्तीमा ८१ जनाको मृत्यु भएको हमासले सञ्चालन गरेको नागरिक प्रतिरक्षा निकायले जनाएको छ। मृतकमध्ये १९ बालबालिका र २४ महिला भएको उक्त निकायको दाबी छ। इजरेलले यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन। यसअघि इजरेली प्रधानमन्त्रीले हमासले युद्धविराम सम्झौता पालना गर्न नखोजेको आरोप लगाएका थिए। तर हमासले आफू युद्धविराम सम्झौताका सबै सर्त लागु गर्न प्रतिबद्ध रहेको जनाएको छ।

युद्धविराम कहिलेसम्म

छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिने छ। त्यसको साटो इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरेली फौज फिर्ता हुने छ। यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुने छन्। यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिने छ। भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरेल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ।बीबीसी भेरिफाइको अध्ययन अनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ।

गाजामा हर्षोल्लास

सम्झौताको खबर फैलिएसँगै गाजाभरि हर्षोल्लास छाएको छ। डेर अल-बलाह र खान यूनिसबाट प्राप्त तस्बिरमा मानिसहरू खुसीसाथ प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गरेको देखिन्छ । इजरेली बन्धकहरूका परिवारहरू हर्ष र राहत महसुस गरेका छन्। उनीहरूले सम्झौता पूर्ण रूपमा कार्यान्वयन नहुने पो हो कि भन्ने चिन्ता समेत देखिन्छ। इजरेली राष्ट्रपति आइज्याक हर्गजले सम्झौताका केही पक्ष “निकै पीडादायी” भए तापनि यो सही कदम भएको बताएका छन्। हमासका मुख्य वार्ताकार खलिल अल-हयाले गाजामा थोपरिएको पीडाका लागि क्षमता नदिने बताएका छन्। बीबीसी

सम्बन्धित समाचार