साउदी जान अब सीप परीक्षण अनिवार्य, श्रमिकलाई १५ हजार थप भार

साउदी अरेबियाले नेपालमा “स्किल्स भेरिफिकेसन प्रोग्राम (SVP)” लागू गरेको छ। यस कार्यक्रमअन्तर्गत साउदीमा काम गर्न जाने निश्चित श्रमिकहरूले अब आफ्नो पेशागत सीपको सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ। कार्यक्रम १७ जुन २०२६ देखि औपचारिक रूपमा लागू भएको हो। सीप प्रमाणीकरणका लागि श्रमिकले परीक्षा शुल्क र आरपीएल शुल्कबापत ५०–५० अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था रहेको छ, जसअनुसार कुल १०० अमेरिकी डलर (करिब १५ हजार रुपैयाँ) अतिरिक्त खर्च व्यहोर्नुपर्ने हुन्छ।

प्रारम्भिक चरणमा पाँच पेशालाई कार्यक्रममा समावेश गरिएको छ। तीमध्ये लोड तथा अनलोड कामदार, सामान बोक्ने कामदार (Carrier), ह्विलबारो कामदार, निर्माण कामदार (Construction Worker) तथा कन्स्ट्रक्टिङ वर्कर रहेका छन्। यी सबै पेशाका लागि प्रत्यक्ष मूल्याङ्कन (Direct Assessment) प्रणालीमार्फत सीप परीक्षण गरिनेछ। परीक्षणमा लिखित तथा व्यवहारिक दुवै पक्ष समेटिने बताइएको छ।

साउदी मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने यो कार्यक्रमको उद्देश्य साउदी श्रम बजारमा आवश्यक मापदण्डअनुसार दक्ष जनशक्ति सुनिश्चित गर्नु रहेको जनाइएको छ। कार्यक्रम क्रमशः अन्य पेशामा पनि विस्तार गरिनेछ।

कार्यक्रममा सहभागी हुन इच्छुक श्रमिकहरूले आधिकारिक पोर्टलमार्फत दर्ता गरी व्यक्तिगत खाता खोल्नुपर्नेछ। त्यसपछि आफ्नो भिसामा उल्लेखित पेशासँग मिल्ने पेशा छनोट गरी परीक्षणको लागि आवेदन दिनुपर्नेछ। परीक्षा केन्द्र, मिति र समय छनोट गरेपछि निर्धारित स्थानमा उपस्थित भई मूल्याङ्कन दिनुपर्ने व्यवस्था छ। सफल उम्मेदवारलाई प्रोफेसनल एक्रेडिटेसन सर्टिफिकेट प्रदान गरिनेछ, जसको विवरण सिधै साउदीको भिसा प्रणालीमा समावेश हुनेछ।

साउदी सरकारले सीप परीक्षणलाई अनिवार्य बनाएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकहरु माथी आर्थिक भार थपिने भएको छ । सीप परीक्षण शुल्क तथा प्रक्रियाका कारण श्रमिकमाथि थप आर्थिक भार पर्ने भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

सम्बन्धित समाचार