वैदेशिक रोजगार विभागका अनुसार २०८३ साल जेठ महिनामा (जेठ १५–असार १४) ६१ हजार ७२ जना नेपालीले श्रम स्वीकृति प्राप्त गरेका छन्। यसमध्ये ३१ हजार ७०१ जनाले नयाँ श्रम स्वीकृति तथा २९ हजार ३७१ जनाले पुनः प्रवेश (Re-entry) श्रम स्वीकृति लिएका छन्।
देशगत रूपमा हेर्दा मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य बनेको छ। मलेसियामा १४ हजार १९२ जना, यूएईमा १२ हजार ४५५ जना, कतारमा १० हजार २१० जना र साउदी अरबमा ७ हजार ५१९ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्।
जिल्लागत रूपमा धनुषा पहिलो स्थानमा रहेको छ, जहाँबाट २ हजार ८३१ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि झापा (२,६४४), मोरङ (२,४५३), सिराहा (२,४२८) र महोत्तरी (२,२४४) रहेका छन्।
विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये ५३ हजार ६९८ पुरुष र ७ हजार ३७४ महिला रहेका छन्।